कमल । झापाको कमलमा असार १६ गते वृत्ती परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ ।
नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुरयाउने उद्धेश्यले कमल गाउँपालिकाले कमल उद्योग वाणिज्य संघ सँगको सहकार्यमा आयोजना गरिने मेलाका बिषयमा गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
हेल्भटास नेपालको प्राविधिक सहयोगमा कमल ३ स्थित केर्खामा रहेको केर्खा खैलामैदानमा बिहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन हुने मेलामा गाउँपालिकाको रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल रहने जनाइएको छ । त्यहाँ रोजगारको खोजीमा रहेका र प्राविधिक धारको बिषय पढन चाहने बिद्यार्थीहरुलाई राज्यका तर्फबाट उपलब्ध हुने सेवा सुविधा लगायतका बिषयहरुको बारेमा समेत जानकारी गराइने पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाबासीलाई यो मेलामा सहभागी भएर आवश्यक जानकारी लिन आव्हान गर्नुभयो । त्यसैगरी कमलमा पहिलो पटक यस किसिमको मेला आयोजना भएकाले यसको विशिष्ट महत्व रहने पनि समेत अध्यक्ष राईले बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले रोजगारका अवसरहरुको बारेमा सुसुचित गराउने मुख्य लक्ष्यसहित स्थानीय उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि समेत यो मेला सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । हेल्भटास नेपालका राम अवतार शाहाले सीप सिक्न चाहने र आत्मनिर्भर बनाउने काममा यसले सहयोग पुरयाउने बताउनुभयो । सो मेलाको उदघाटन जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालले गर्ने जनाइएको छ ।