logo
शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

कृषि मार्फत रोजगारी सिर्जना र नागरिक मैत्री सेवा विस्तारमा जोड


  • कुइनेटो न्युज
  • बिहिबार, जेष्ठ ३२ २०८०

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बुधबार कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको हो । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगत देखि सञ्चालित वहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने तथा विपद व्यवस्थापनका लागि अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमुलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरामा जोड दिइएको छ ।
यस्तै कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझावलाई कर्यान्वयन गरिने, स्थानीय तहका स्वीकृत रिक्त दरवन्दीमा कर्मचारी पदपूर्ति प्रणालीलाई छिटो, छरितो, गुणस्तरीय बनाउन कानूनी र संरचनागत सुधार गर्दे लैजाने, प्रदेश स्तरीय सञ्चार माध्यमहरुलाई नियमन गर्न आवश्यक कानून निर्माण गरिने छ, प्रदेश सरकारको कार्यसञ्चालन गर्न प्रदेशको राजधानी भित्र प्राप्त हुने जग्गामा भौतिक संरचना निर्माणका लागि गुरुयोजना तयार गरिने कुरा उल्लेख गरिएको छ ।

नीतितथा कार्यक्रमको पुर्ण पाठ हेर्नलाई याहाँ क्लिक गर्नुहोला नीति तथा कार्यक्रम ०८०८१-2080-2-30 Final फाइनल (1)
त्यस्तै स्थानीय तहसँगको साझेदारीमा स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाउन थप कार्यक्रम सञ्चालन गरिनेछ, कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहाने युवाहरुलाई तरकारी, च्याउ, मह, पशुपालन आदि ब्यवसाय संचालनका लागि सहुलियतपूर्ण कर्जा तथा सहयोग उपलब्ध गराईने, कृषि वस्तु उत्पादन, भण्डारण, आपूर्ति, गुणस्तर नियमन जस्ता कार्यलाई व्यवस्थित गर्दै लगिने, स्थानीय तहसँगको सहकार्यमा सितभण्डार निर्माण तथा सञ्चालनमा सहकार्य गरिने, “एक स्थानीय तह एक उत्पादन कार्यक्रम” लाई व्यवस्थित गर्दै लगिने कुरामा जोड दिइएको छ ।
त्यस्तै प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न उपयुक्त स्थानमा “कोशी औद्योगिक क्षेत्र” स्थापनाको लागि अध्ययन गरिने, अल्लो, वाँस, बेतबाँस, भेडाको उन, पशुहरुको छाला, कोगटी जस्ता स्थानीय कच्चा पदार्थमा आधारित सङ्कलन तथा प्रशोधन केन्द्रको स्थापना गरी परम्परागत उद्यमशीलता प्रवर्द्धनका लागि उन्नत प्रविधि अवलम्बनमा सहयोग गरिने बताइएको छ ।
प्रदेश भित्रका सवै नागरिकको घरमा आगामी दुई वर्ष भित्रमा विद्युत सुविधा पु¥याउन कार्ययोजना स्वीकृत गरी सम्बन्धित निकायसँगको सहकार्यमा कार्ययोजना कार्यान्वयन गरिने, सामुदायिक क्याम्पसहरुको गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि पूर्वाधार विकासमा सहयोग गरिने कुरा उक्त नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहमा संरक्षण कोषको व्यवस्था गर्न सहजिकरण गरिने, कोशी प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक र ऐतिहाँसिक क्षेत्रभित्र रहेका लिपि, भाषा, साहित्य, कला, संस्कृति आदिको संरक्षण, सम्बर्द्धन, अध्ययन, अनुसन्धान गरी यस क्षेत्रलाई संमृद्ध बनाउनका लागि प्रादेशिक संस्कृति नीति तर्जूमा गरिने बताइएको छ ।
मोरङ जिल्लाको विराटनगर महानगरपालिका स्थित “बैजनाथपुर क्रिकेट मैदान” लाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक क्रिकेट मैदान र झापा जिल्लाको कमल गाउँपालिका पाडाजुँगी स्थित “आदिवासी जनजाति रंगशाला” लाई प्रादेशिक रंगशालाको रुपमा विकास गरिने कुरालाई नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend