कमल । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले किसानका विभिन्न समस्या समेटेर आज गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघ कमल गाउँ कमिटीको एक प्रतिनिधिमूलक टोलीले पालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यलाई किसानको समस्याहरु सम्बोधन गर्न माग राख्दै ज्ञापनपत्र बुझाईएको हो ।
२५ वुँदे ज्ञापनपत्र बुझाउदै महासंघ कमलका अध्यक्ष डम्बरबहादुर निरौलाले ८५ प्रतिशत बढी किसान भएको पालिकामा अव वन्ने नीति तथा कार्यक्रमसहितको वजेट लक्षित किसानमुखी हुनुपर्ने सहितको ज्ञापन पत्र बुझाउनु भएको हो ।
ज्ञापनपत्रमा किसानलाई समयमै रासयानिक मल उपलव्ध हुनुपर्ने, उन्नत मल तथा वीउ खरिदमा ५० प्रतिशत छुटको उपलव्ध हुनुपर्ने, खाद्य बालीमा बिमाको व्यवस्था हुनुपर्ने, सिचाईको विलमा उठेको रकम शतप्रतिशत अनुदान दिईनु पर्ने ,खाद्य बस्तुको उत्पादन र वजारीकरणको व्यवस्था गरिनु पर्ने लगायतका किसान लक्षित राहत तथा कार्यक्रममा जोड दिईएको उल्लेख छ ।
त्यसैगरि, पालिकाले उपलव्ध गराउने अनुदान साना तथा मझौला किसानलाई प्राथमिकताका साथ पारदर्शी रुपमा वितरण गरिनु पर्ने,बार्षिक रुपमा माटोको परीक्षण तथा पशुको रोग विरुद्ध भ्याक्सिन निःशुल्क गरिनु पर्ने, च्याँउ, मौरी तथा माछापालक किसानलाई प्रवद्र्धनात्मक सहयोग पुरयाँउनु पर्ने जनाईएको छ ।
त्यस अवसरमा किसानका ज्ञापनपत्र बुझदै पालिका अध्यक्ष हुकुमसिंह राईले किसानले संस्थागत रुपमा उठाएका माग सम्बोधन गर्न स्थानीय सरकार गंभीर हुने बताउनु भयो ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा साविक लखनपुर गाविसका पूर्व अध्यक्ष भोजुकुमार घिमिरे, महासंघ कमलका सचिव भूदेव बराल, पदाधिकारीहरु, सदस्यहरु,किसानहरुको समेत उल्लेखीय उपस्थिति रहेको थियो ।