हाल के गर्दै हुनुहन्छ ?
हाल म ‘सबको इच्छा सार्थक शिक्षा, सफा मन, सुन्दर जीवन’ भन्ने मूल नाराका साथ नेपालका ७७ वटै जिल्लाको भ्रमण गरिरहेको छु । दोश्रो चरणको यो नेपाल भ्रमण अभियान नेपालकै पूर्वी पहाडी जिल्ला भोजपुर जुन मेरो गृहजिल्ला पनि हो, त्यहाँबाट सुरु भएको हो । २०७९ साल पौष ५ गतेदेखि पौवादुङमा गाउँपालिका वडा नं. ३ च्याङ्ग्रे स्थित श्री सिंहदेवी प्राविबाट मलाई कखरा सिकाउने आदरणीय गुरु प्रेमकुमार श्रेष्ठ, सोही प्राविका विद्यार्थी एवं शिक्षिकाद्वयको हातबाट टीका र माला पहिरिदा यो अभियान एक्लै सुरु गरेको छु । यस दौरानमा भोजपुर, खोटाङ र उदयपुर जिल्लाको भ्रमण सकेर हाल झापा जिल्लामा भ्रमणरत छु । यस अघि नारायणप्रसाद भट्टराई (सोहम) को साथमा २०६५ देखि २ वर्ष नेपालका तत्कालीन ७५ जिल्ला साथै २०७० देखि एक वर्ष भारतका सबै राज्य, भुटान तथा म्यान्मारको भ्रमण पनि गरिसकेको छु ।
आफ्नो कामबाट सन्तुष्ट हुनुहुन्छ ?
भ्रमण नै आत्म सन्तुष्टिको यति शक्तिशाली माध्यम हो जुन सन्तुष्टि अन्य पेसा, व्यवसाय वा काम गर्दा कमै मिल्ला । तसर्थ अत्यन्तै सन्तुष्ट छु, किनभने भ्रमणले मलाई जीवनमा जस्तोसुकै बाधा अड्चन आएपनि हाँसीहाँसी सामाना गर्न सक्ने क्षमता दिएको छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा आमूल रुपमा सकारात्मक परिवर्तन आएको छ । साहस, आत्मविश्वास, आँट तथा जोश जाँगर प्रशस्त मात्रामा चुलिएको छ । हरेक नयाँ ठाउँको भ्रमण र हरेक नयाँ मान्छेको संगतले मन मष्तिस्कमा अनन्त उर्जा भरिएको छ । जन्मजात प्रतिभा तथा सिर्जनशीलताको निर्विरोध सदुपयोग गर्ने यो महान अवसर चानचुने अवसर होइन । डलर तथा पाउण्ड स्टर्लिङ अवसर हो भन्ने लाग्छ ।
त्यति मात्रै होइन संसारमा जो जसले अद्वितीय योगदान दिएका छन्, तिनीहरुको जीवन अध्ययन गर्दा कुनै न कुनै कालखण्डमा उनीहरुले लामो यात्रा गरेर खोज तथा आविष्कार गरे । त्यो देख्दा, सुन्दा यात्रा त जीवनका लागि अक्सिजन हो भन्ने मलाई महशुस भएको छ । त्यति मात्रै होइन, नेपालमा विभिन्न रोचक एवं अनौठा विषय वस्तुबारे स्वदेश तथा विदेशमा जानकारी गराउन पाउँदा अपार हर्ष लागेको छ । जस्तै दैलेख जिल्लाको पञ्चकोशी क्षेत्र अन्तर्गत पर्ने शीरस्थान नाभिस्थान पादुका, धुलेश्वर र कोटिलामा निरन्तर आफै बलिरहेको ज्वाला अर्थात आगोका बारेमा जानकारी दिइरहेको छु । पूर्वका पाथिभरादेखि खोटाङ हलेसीसम्मका जानकारी पश्चिममा पु¥याइरहेको छु भने पश्चिमका फोक्सुण्डो ताल, खप्तड, उग्रतारा, शैलेश्वरी लगायतका ठाउँबारेको जानकारी पूर्वमा दिइरहेको छु । विकसित भनिएका सहरमा मानवीयता खस्किदै गएको र अविकसित भनिएका गाउँबस्तीमा मानवता अझैपनि जीवित रहेको बताइरहेको छु । साक्षार व्यक्तिभन्दा निरक्षर अथवा कम पढालेखा व्यक्तिहरुले आफ्नो जीवन खुलेर खुशीसाथ बाँचिरहेको अनुभवहरु सुनाइरहेको छु । मान्छेको जीवन सफल भन्दा पनि सार्थक एवं सफल बन्नुपर्छ भनेर जोड दिइरहेको छु । किनभने आतंकवादीले पनि कोही कसैलाई हत्या वा आक्रमण गर्नुलाई सफलता ठान्छन् । तर मानव जातिले नखोजेको त्यस्तो कर्म सफलता बिल्कुल होइन जसले मान्छेलाई नै मारेर आफूलाई सफल भएको दावी गर्छन् । बचाउनु पो सफलता हो त, होइन र ?
विदेशमा बस्ने नेपालीहरु कामदार मात्रै छैनन्, उद्योग, व्यापार, होटल, लज चलाएर उद्योगी बनेका छन् भन्ने विभिन्न उदाहरण दिइरहेको छु । नेपालीले पनि रेल चलाउँछन् भनेर गुल्मीका बमबहादुर घिमिरेको विषयमा बोलिरहेको छु । स्टार प्लसको चर्चित टेलिसिरियल (ये रिश्ता क्या कहलाता है) का मुख्य डाइरेक्टर स्याङ्जाका राम पाण्डेयबारे विभिन्न घट्नाहरु सार्वजनिक गरिरहेको छु । नेपालीले पनि संसार हल्लाउन सकेका छन् भनेर राजन शर्मा पुष्कर शाह, जीवा लामिछाने आदि बारे भनिरहेको छु । अबको शिक्षा व्यवहारिक जीवनोपयोगी, प्रविधिमैत्री एवं जीवन र जगत लक्ष्य लिएर कर्म निरन्तर गरे सफलता प्राप्त हुन्छ भनेर सप्रमाण उदाहरण दिइरहेको छु । यसकारण म आफ्नो कामबाट धेरै सन्तृष्ट छु ।
आम मानिसहरुलाई तपाईको पेसाबाट के दिदै हुनुहुन्छ ?
आम मानिसहरुलाई नकारात्मकताको दलदलले असाध्यै गाँजिरहेको वर्तमान अवस्थामा मैले मेरो तर्फबाट उनीहरुलाई आफ्नो विवेकले भ्याएसम्म आशा, उमंग र हौसला प्रदान गर्ने गरेको छु । आफ्नो लक्ष्य प्राप्तिका निम्ति योग्यता भन्दा पनि म योग्य छु । कुनै पनि काम गर्न भन्ने कुराले विशेष अर्थ राख्दछ भनेर कैयौँ उदाहरण दिने गरेको छु । जीवनमा अगाडि बढ्न नोट भन्दा पनि अठोटले सर्वाधिक महत्वपूर्ण भूमिका खेल्छ भनेर कोरा उपदेश होइन ३५० रुपैयाँ मात्रै बोकेर पनि मैले नेपालका सबै जिल्ला, भारतका सबै राज्य, भुटान, म्यान्मार लगायतका मुलुकको भ्रमण गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्ने गरेको छु । उच्च लक्ष्य अनुसारको कर्म र कर्ममा निरन्तरता भए मात्रै जीवनमा सफलता हासिल हुन्छ भनेर जोडबल दिइरहेको छु । किनकि मेहेनतले मात्र जीवन सफल हुने भए देशका एकसेएक किसान मजदुर करोडपति अर्बपति हुनुपथ्र्याे ।
उत्प्रेरणात्मक कार्यक्रमको क्रममा मस्तिष्कबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हालसम्म मैले भोजपुर, खोटाङ, उदयपुर र झापा गरी चार जिल्लामा ३० वटा विद्यालय, कलेजका सैयौं विद्यार्थीहरुलाई एकदेखि डेढ घण्टासम्म उत्प्रेरणात्मक कार्यक्रम दिइसकेको छु । कम्तीमा पनि एक लाख विद्यार्थीलाई प्रेरित गर्ने लक्ष्य अनुरुप सबै जिल्लाका केही विद्यालय कलेजमा यस्ता कार्यक्रम हुनेछन् । त्यति मात्र होइन शिक्षक, अभिभावक तथा आम नेपाली जनजनमा पनि यस कार्यक्रमको सन्देश प्रसारित भइरहेको छ । जसबाट खासगरी देशका भावी युवायुवती, किशोरकिशोरी तथा विद्यार्थीहरु माझ आशा र आत्मविश्वासको सञ्चार भएको छ । प्रशिक्षणमा सामेल विद्यार्थीहरुले आफ्नो गुमेको लक्ष्य पनि हजुरको कार्यक्रमले पुनः प्राप्ति भएको कुरा मलाई फोन तथा खबर गरिरहेका छन् । त्यसकारण रेस्पोन्स सोचे भन्दा सकरात्मक छ । त्यस्तै तालिममा सहभागी विद्यार्थी तथा अभिभावकहरुले त यतिसम्म भनेका छन् कि तपाई जस्तै अरु ४÷५ जना उत्प्रेरक वक्ताले हिमाल, पहाड र तराईका हरेक विद्यालय, कलेज र विश्वविद्यालयमार्फत यही स्तरको प्रस्तुती र प्रशिक्षण दिने हो भने आम नेपाली जनजनमा आशाको सञ्चार त हुनेछ नै, सबैलाई नयाँ नेपाल बनाउन एक अद्वितीय उर्जा पनि प्राप्त हुनेछ । किनकी यस प्रशिक्षणभित्र जीवनलाई चाहिने अत्यन्तै आवश्यक खुराकहरु रहेछन् भन्नुभएको छ ।
हाम्रो शिक्षाले आफू बाहेक अरु सबैको अध्ययन गर्न लगाउँछ तर आफैलाई चिन्ने बिल्कुल महत्व दिदैन । तसर्थ अशिक्षा भन्दा पनि कुशिक्षाले समाज वर्वाद भइरहेको छ । गरिबी त धनी मात्रै होइन, सफल र सार्थक जीवन बाँच्न, दुःख र संघर्षमा हाँसीहाँसी जिउन सिकाउने आधार इट्टा हो भनेर कसैले भन्दैनन् । संसारमा जो जो व्यक्ति वा देश धनी या सफल बने उनीहरु गरिबीबाटै उठेर विकशित, धनी सफल एवं सार्थक जीवन बाँचिरहेका छन् । तसर्थ गरिबी अभिशाप होइन, वरदान हो । वरदान बनाउनु पर्छ भनेर भन्दा उत्प्रेरणाका सहभागी खुशी भएका छन् । ७३० दिन लगातार नेपाल घुम्दा एकदिन पनि ज्वरो नआएको रुघाखोकी नलागेको, एउटा पनि सिटामोल खानु नपरेको एकदमै लक्ष्य ठूलो राखेर अगाडि बढ्न प्रेरणा मिलिरहेको उनीहरुको अनुभव छ । सफल बन्न चाहने व्यक्तिलाई न जात, न उमेर, न लिङ्ग, न देश केही कसैले पनि रोक्न नसक्ने आफ्नै मन र विचारले मात्रै रोक्नेछेक्ने भएकाले त्यसबाट माथि उठ्न सक्ने हुनुपर्छ भन्दा धेरैलाई हौसला साथै प्रेरणा मिलिरहेको छ । वास्तवमा भन्नुपर्दा संसारमा सबैभन्दा ठूलो क्रान्ति भनेकै वनको कान्ति होइन, मनको क्रान्ति हो । र त्यो महशुस गर्न यस्ता सेमिनारको अत्यन्तै ठूलो भुमिका हुने रहेछ भन्ने महशुस भइरहेको छ । सहभागीले पनि महशुस गरिरहेका छन् ।
तपाईद्वारा लिखित कृतिका बारेमा केही भन्दिनुस ?
हालसम्म मैले तीनवटा पुस्तक प्रकाशन र दुईवटा वृतचित्र निर्माण गरिसकेको छु । तीनवटा पुस्तकमा नेपाल भ्रमणका ७३० दिन, “देखेको विश्व” र नेपाल अनि विश्व दृष्टि रहेका छन् । नेपाल भ्रमणका ७३० दिन पुस्तक यस अभियानको प्राण हो । लगातार दुई वर्षसम्म तत्कालीन नेपालका ७५ वटै जिल्ला साथै एक हजार गाविसका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, पुरातात्विक स्थल सामाजिक तथा शैक्षिक पक्ष, आम नेपाली जनजीवन, उनीहरुको भाषा, कला, धर्म, संस्कृति आदि विषयलाई सादा तथा रंगीन तस्वीरसहित ५०८ पृष्ठमा छापिएको यस पुस्तकलाई अध्येता तथा विज्ञहरुले नेपालको इन्साइक्लोपिडिया र नेपालको आँखीझ्यालका रुपमा चित्रण गरेका छन् । आफै घुमेर लेखिएको हुनाले पुस्तक जीवन्त बनेको उनीहरुको टिप्पणी छ । सक्दा सबै नेपालीको हातमा, त्यसो हुन नसक्दा प्रत्येक विद्यालय तथा क्याम्पसको पुस्तकालयमा अनिवार्य यो पुस्तक हुन जरुरी ठानेका छन् उनीहरुले ।
त्यस्तै देखेको विश्व र नेपाल पुस्तक चाहि भारतका सबै राज्य अर्थात प्रान्त, ३ केन्द्र शासित प्रदेश, भुटान, म्यान्मार लगायतका देशको भ्रमणमा आधारित पुस्तक हो । जसले नेपाल र तत् तत् देशको समस्या र सम्भावना, सवल पक्ष र दुर्वल पक्ष आदिका विषयमा गरिएको तुलनात्मक स्थलगत अध्ययनलाई उजागर गर्छ । साथसाथै विदेशमा बस्ने नेपालीहरुका सुखदुःख, समस्या, सम्भावना, संघर्ष, सफलता, विफलता जस्ता विषयमा पनि यो पुस्तक बोलेको छ । इच्छाशक्ति भए नेपाली पनि विश्वमा कोही भन्दा केहि कम छैनन् भन्ने कुराको प्रमाणका लागि यस पुस्तकमा धेरै उदाहरणीय व्यक्तिलाई समेटिएको छ । समग्रमा नेपालीहरुले विदेशमा भोगेको सुखदःुख अनि सफलता विफलताको एक ऐना हो यो पुस्तक भन्ने लाग्छ ।
देखेको विश्व र नेपाल विश्व दृष्टी, नेपाल भ्रमणका ७३० दिन र दुई वटा वृत्तचित्र नेपाल दर्शन विदेश दर्शनको बारेमा जिस्ट ?
यसैगरी विश्व दृष्टि पुस्तक चाहि उत्प्रेरणा जगाउने र जीवनमा मर्नु अघि केही गर्नैपर्छ भन्ने विशेष सन्देशमा आधारित पुस्तक हो । जसले जीवन र जगतप्रतिको दृष्टि सकरात्मक भएमा मात्र हरेक सफलता तथा उपलब्धी हात पर्छन् भन्ने निचोडलाई पनि जोडतोडका साथ उठाएको छ । जुन पुस्तकको आध्योपान्त अध्ययन गरिसकेपछि पाठकलाई हालसम्म केही गर्न नसकेकोमा ग्लानि तथा पश्चाताप हुन्छ भने अब त केही गर्नैपर्छ भनेर इतिहास रट्ने भन्दा पनि इतिहास रच्ने महामानवहरुको मार्गदर्शनमा आफूलाई यसले अग्रसर हुन प्रेरित गर्दछ ।
“नेपाल दर्शन” वृत्तचित्र नेपालका सबै जिल्लाको जनजीवनकोे झल्को दिने वृत्तचित्र हो । जुन ९८ मिनेटको रहेको छ । यूट्युबमा पनि हेर्न सकिने यस वृतचित्रलाई विश्व दर्शन अभियान, नेपालले उत्पादन गरेको हो । उक्त वृत्तचित्र हेरिसकेपछि खासगरी नेपाल घुम्न र नेपाललाई नजिकबाट चिन्न नपाएका आम स्वदेशी नेपाली पर्यटकलाई धेरै उर्जा र मार्गदर्शन मिल्छ साथै विदेशीलाई पनि । अनि त्रिदेश दर्शन चाहि भारतका सबै राज्य, भुटान अनि म्यानमार भ्रमणमा आधारित वृत्तचित्र हो । कतै विकसित त कतै स्खलित अवस्थामा रहेको भारतबारे यस वृत्तचित्रमा धेरै दृश्य छन् । त्यस्तै भुटान र म्यानमारमा नेपालीहरुको स्थिति कस्तो छ, कसरी उनीहरुले भाषा, कला, धर्म, सँस्कृति आदिको संरक्षण गरेका छन् । उनीहरु पितृदेश अथवा माइतीेदेशलाई कसरी हेर्छन् भन्ने विषयमा आधारित यो वृत्तचित्रले नेपाललाई कसरी पर्यटन हब बनाउन सकिन्छ भन्ने शिक्षा पनि दिन्छ ।
नेपाललाई विश्वमा चिनाउन यस यात्राले के भूमिका खेलेको छ ?
नेपाललाई विश्वमा चिनाउनु यसले केही महत्वपूर्ण भूमिका जरुर खेलेको छ । जस्तै भारतको गोवा समुद्रका कारण अन्तर्राष्ट्रिय पर्यटन केन्द्र हो । जहाँ भ्रमण गर्दै जाँदा पत्रकार सम्मेलन त्यहाँको प्रेस क्लबले आयोजना ग¥यो । यात्राका विभिन्न उपलब्धी र उद्देश्यबारे बताएपछि पत्रकारहरुले हामीलाई नपाल जान भिषा कसरी पाइन्छ भनेर सोधे । नेपालमा नेपालीहरुलाई भारत घुम्न भिषा लाग्दैन भन्ने कुरा बालबच्चाहरुलाई पनि थाहा छ । तर त्यहाँका बौद्धिकवर्ग भनेर चिनिने पत्रकारहरुलाई समेत नेपाल भारत आउन जान दुवै देशका नागरिकलाई भिषा लाग्दैन भन्ने जानकारी रहेनछ । पत्रकारको यस्तो प्रश्न सुनेर हामी केहीबेर त छक्क प¥र्यौं । हामीले भन्यौं सन १९५० का नेपाल भारत सन्धी अनुसार नेपाल भारत आउन जान दुवै देशका नागरिकलाई भिषामुक्त देश नेपाल भनेर भोलिपल्ट त्यहाँका ठूलाठूला दैनिक पत्रिकाहरुले बक्स न्यूज बनाएर छापे । र त्यो सन्देश गोवाभर फैलियो । जसमा यसै यात्राको पनि केही देन रह्यो । त्यतिमात्र होइन, नेपाल सरकारले भारतभर नेपाल जान भिषा लाग्दैन भनेर करोडौं भारतीयलाई यति मात्रै सन्देश दिने हो भने त्यहीबाट नेपाल भम्रणमा आउने हजारौं पर्यटकले मात्रै पनि हामी आम नेपालीको जीवनस्तर सुधार्न र पर्यटनको माध्यममार्फत नेपाल देशको अर्थतन्त्र मजबुत बनाउन बहुत ठूलो योगदान हुनेछ । अर्को कुरा गरिब देशमा एउटा निश्चित व्यक्ति वा संस्था धनी हुनुको खासै अर्थ रहदैन । तर देश धनी अर्थात समृद्ध भयो भने व्यक्ति वा संस्था गरिब भएपनि उसले विश्वभर सम्मानित नागरिक हुन पाउछ भ्रमणको शिक्षा हो यो ।
अन्त्यमा छुटेका केही विचारहरु छन् कि ?
अरुका लागि जीवन यात्रा होला नहोला तर मेरा लागि यात्रा नै जीवन हो यात्रा नै जीवनको ज्योति हो । यात्रा नै जीवनको मोती हो, तसर्थ बिना यात्रा, बिना खोज कोही पनि, कुनै पनि व्यक्तिको जीवन सार्थक बन्न मुश्किल छ । अझ म त भन्छु हामी आम नेपाली जनजनले हिमाल उक्लिन जरुरी छ । तराई झर्न जरुरी छ, पहाड निस्कन जरुरी छ । जबसम्म हामीले हाम्रा हिमाल, पहाड र तराई चिन्न सक्दैनौं तबसम्म हामीले आफूले आफैलाई चिन्न सक्ने छैनौ । भ्रमण गर्ने सबैभन्दा उपयुक्त उमेर युवा उमेर हो । यस उमेरमा हामीले स्वदेश विदेशको यथासम्भव भ्रमण गर्न सक्यौं भने जस्तासुकै चुनौतीका बावजुद पनि जीवन जिउन सहज हुन्छ । आफूलाई हरदम साहस उर्जा र आत्मविश्वासले भरिपूर्ण हुन मद्दत मिल्छ । नेपालीले विश्व चिन्नुभन्दा पहिले देश अर्थात् स्वदेश चिन्न नै जरुरी छ । हामी आफैले नेपाल चिनेका छैनौं भने विदेशीलाई हामीले कसरी नेपाल चिनाउने ? नेपालको चिनारी कसरी दिने ? तसर्थ यथासम्भव नेपाल यात्रा हर कोही नेपालीका लागि अति आवश्यक छ । त्यही सन्देश प्रवाह गर्न मैले फेरि १४÷१५ वर्षपछि दोश्रो चरणको नेपाल भ्रमण सुरु गरेको हुँ । २ वर्षसम्म सबै अर्थात् ७७ वटै जिल्ला पुग्ने सोच छ । समय नपुगे थप गर्ने विचार पनि छ । यस दौरानमा हरेक जिल्लाका विद्यार्थीलाई मष्तिस्क बनावट, लक्ष्य, संघर्ष, सफलता, यात्रा, संगत, सपना, डायरी लगायतका विविध विषयमा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेर उनीहरुमा साहस, उर्जा र आत्मविश्वास भर्नु छ । त्यसका लागि सबैको सहयोग रहोस् भन्ने मेरो विनम्र अनुरोध छ ।