logo
शुक्रबार, साउन २९ २०८३

नातेदार उम्मेदवार

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालका परिवारबाट ३–३ जना चुनावी मैदानमा


  • कुइनेटो न्युज
  • मंगलबार, असोज २५ २०७९

काठमाडौँ — दाङको महेन्द्र बहुमुखी क्याम्पसमा उपप्राध्यापक रहेकी मेनकाकुमारी पोख्रेलले असोज १ गते जागिरबाट राजीनामा दिइन् । त्यसको दुई दिनपछि उनको नाम एमालेले प्रतिनिधिसभाको समानुपातिक सूचीमा १ नम्बरमा राख्यो । निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा उनको नाम खसआर्य (महिला) क्लस्टरमा छ । उनी एमालेकी पुरानै कार्यकर्ता भए पनि राजनीतिमा कमै सक्रिय थिइन् । एमालेमा पोख्रेलभन्दा वरिष्ठ र बढी योगदान गरेका महिला नेता नभएका होइनन् । तर पार्टी महासचिव दाजु शंकर पोख्रेलको सामर्थ्यले उनलाई सहजै संघीय सांसद बन्ने बाटो खुलायो ।पोख्रेल एक प्रतिनिधि पात्र मात्र हुन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीभित्र शक्तिमा रहेका नेताहरूले आफ्ना नातेदारलाई सांसद सुनिश्चित हुने गरी समानुपातिकतर्फ उम्मेदवार बनाएका छन् । उनीहरूले प्रत्यक्षतर्फ समेत आफ्ना नातेदारका लागि सिट व्यवस्थापन गरेर टिकट दिलाएका छन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनको राष्ट्रव्यापी वर्चस्वबीच पनि पनि मोरङ–६ (१) मा कांग्रेसका चुमनारायण तबदारले माओवादी केन्द्रका जीवन आचार्यलाई पराजित गरेका थिए । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरी–ज्वाइँ हुन् ।यस पटक पाँचदलीय सत्ता गठबन्धनबीच २०७४ को निर्वाचनमा जितेको स्थानमा सोही दललाई प्राथमिकता दिएर भागबन्डा गर्ने भद्र सहमति भएको थियो । तर, दाहालले आफ्ना ज्वाइँका लागि मोरङ–६ (१) माओवादी केन्द्रको भागमा पारे । दाहालकै इच्छा पूरा गर्न कांग्रेसले तबदारलाई प्रतिनिधिसभाको बन्दसूचीमा थारू क्लस्टरमा २ नम्बरमा राखेको छ । माओवादीसँग आचार्यको साइनो दाहालको ज्वाइँ हुनु मात्र हो । ‘तबदारजी थारू समुदायको बाहुल्य क्षेत्रबाट सांसद भएर प्रदेशमा मन्त्री हुन चाहनुहुन्थ्यो तर कांग्रेसले दाहालका ज्वाइँलाई अघि सार्‍यो,’ तबदारनिकट एक नेताले भने ।

अध्यक्ष दाहालको परिवारमा ज्वाइँसँगै बुहारी बिना मगर प्रतिनिधिसभाकी उम्मेदवार बनेकी छन् । उनले सत्ता गठबन्धनका तर्फबाट कञ्चनपुर–१ मा उम्मेदवारी दिएकी छन् । दाहाल भने गोरखा–२ बाट चुनाव लड्दै छन् । माओवादी सशस्त्र युद्धका बेला सेनाले गिरफ्तार गरी मगरलाई महाराजगन्जस्थित भैरवनाथ गणमा चरम यातना दिएको थियो ।अर्का उपमहासचिव वर्षमान पुन दम्पतीले प्रत्यक्षतर्फ टिकट पाएका छन् । पुन रोल्पाबाट र उनकी श्रीमती ओनसरी घर्ती काठमाडौं–२ बाट उम्मेदवार बनेका छन् । घर्ती पूर्वसभामुखसमेत हुन् । उनीहरू माओवादी सशस्त्र युद्धमा सुरुदेखि सामेल थिए ।
नातेदारलाई सांसद बनाउन नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो परम्परागत क्षेत्र नै गुमाएका छन् । माओवादी अध्यक्ष दाहालले मनोनयन दर्ता गरेको गोरखा–२ भट्टराईको निर्वाचन क्षेत्र हो । पछिल्लो समय नेपाल समाजवादी पार्टी गठन गरे पनि माओवादी

केन्द्रको चुनाव चिह्न लिएका भट्टराईकै प्रस्तावमा दाहाल गोरखा पुगेका हुन् । त्यसबापत उनकी छोरी मानुषी यमी भट्टराईले काठमाडौं–७ पाएकी छन् । मानुषी अखिल क्रान्तिकारीका तर्फबाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापति भइसकेकी हुन् ।

भट्टराईले झैं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले पनिछोरीलाई सांसद बनाउने भएका छन् । महराको नाम रोल्पा र दाङ गरी तीन वटा क्षेत्रमा सिफारिस भएको थियो । तर, उनले ‘स्वास्थ्यको कारण’ देखाउँदै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नबन्ने निर्णय लिए । छोरी कुश्मा महरा भने उनकै जोडबलमा लुम्बिनी प्रदेशसभामा समानुपातिक सूचीमा खसआर्य (महिला) २ नम्बरमा परेकी छन् ।

माओवादी नेता अग्नि सापकोटाले पनि आफ्नो निर्वाचन क्षेत्र भतिजा माधव सापकोटाका लागि खाली गरेका छन् । उनी पार्टीको पोलिटब्युरो सदस्य र जिल्ला इन्चार्ज हुन् । सशस्त्र युद्धमा सहभागी भएका माधव उनका प्रमुख व्यक्ति हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा पनि यस पटक उम्मेदवार बनेनन् तर श्रीमती नैनाकला थापालाईसमानुपातिकबाट सांसद बन्ने गरी लिस्टमा नाम राख्न सफल भएका छन् । नैनकलाको नाम आदिवासी जनजाति (महिला) तर्फ १ नम्बरमा रहेको छ ।

माओवादी नेताका नातेदार उम्मेदवार अन्य दलभन्दा बढी छन् । प्रतिनिधिसभामा खसआर्य (महिला) को पहिलो नम्बरमा परेकी ज्ञानु बस्नेत सुवेदी उपमहासचिव शक्ति बस्नेतकी बहिनी हुन् । पार्टी केन्द्रकी केन्द्रीय सदस्य रहेकी ज्ञानुभन्दा सिनियर अन्य महिला नेतृहरू भए पनि उनलाई सांसद सुनिश्चित हुने गरी खसआर्य क्लस्टरको १ नम्बरमा राखिएको हो । बस्नेत यस पटक सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्ने कार्यदलमा माओवादी केन्द्रका तर्फबाट सदस्य थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारमा पनि ३ जना उम्मेदवार बनेका छन् । देउवाले आफ्नो परम्परागत क्षेत्र डडेलधुराबाट मनोनयन दर्ता गरेका छन् भने उनकी श्रीमती केन्द्रीय सदस्य आरजु देउवा समानुपातिक बन्दसूचीको खसआर्य ( महिला) तर्फ ३ नम्बरमा छिन् । आरजुको नाम कैलाली–५, बाँके–३ र बर्दिया–२ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो । तर, उनले स्वास्थ्यको कारण देखाउँदै समानुपातिकमा बसिन् । २०७४ को निर्वाचनमा कैलाली–५ बाट निर्वाचन लडेकी उनी पराजित भएकी थिइन् । यस पटक उनले आफू समानुपातिक बसेर उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा ( २ ) मा स्वकीय सचिवप्रकाश देउवालाई टिकट दिलाएकी छन् । प्रकाश सभापति देउवाका भतिजा हुन् । उक्त क्षेत्रमा केन्द्रीय सदस्य जीवन राना थारू, प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’ लगायत नेताहरू आकांक्षी थिए । थारूलाई भने प्रतिनिधिसभाको समानुपातिक सूचीमा थारू (महिला ) को ३ नम्बरमा राखिएको छ ।

पार्टीमा लामो समय योगदान दिएका, क्षमतावान् र अवसर नपाएका नेतालाई पाखा लगाएर आफ्ना नातेदारलाई टिकट दिइएको भन्दै कैलाली–५ (२ ) मा कांग्रेसभित्र चर्को असन्तुष्टि छ । नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष क्षितिज भण्डारीले सोही क्षेत्रबाट बागी उम्मेदवारी दर्ता गरेका छन् । पार्टीभित्र मौलाएको राजनीतिक दादागिरी र परिवारवादको विरोधमा आफूले उम्मेदवारी दिएको बताए । ‘जिल्ला र क्षेत्रमा वर्षौंदेखि त्याग, तपस्या र निष्ठाको राजनीति गरेका नेतालाई पाखा लगाएर आफ्ना नातेदारलाई टिकट दिने काम भयो, त्यही प्रवृत्ति अन्त्य गर्न मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण दम्पती पनि उम्मेदवार छन् । खाँण रूपन्देही–२ बाट उम्मेदवार छन् भने उनकी श्रीमती केन्द्रीय सदस्य मञ्जु खाँणको नाम समानुपातिकको बन्दसूचीमा खसआर्य ( महिला ) तर्फ ६ नम्बरमा रहेको छ । माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बागलुङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्दा उनकी श्रीमती बलावती शर्मा समानुपातिक सूचीमा परेकी छन् । उनको नाम खसआर्य ( महिला) तर्फ ८ नम्बरमा रहेको छ । एमाले सचिव रघुवीर महासेठ दम्पती पनि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । महासेठ धनुषा–४ बाट र उनकी श्रीमती जुली महतो धनुषा–३ बाट उम्मेदवार बनेकी छन् । महतो पार्टी पोलिटब्युरोसदस्य हुन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य हाल नेतृत्वमा रहेका नेताहरूको विकृत स्वभावले असल र इमानदार नेता–कार्यकर्ताभन्दा नातागोता, आसेपासे, बिचौलियाले अवसर पाउने गरेको बताउँछन् । ‘दलहरूको अहिलेको नेतृत्वबाट यस्तो विकृतिको अन्त्य सम्भव देखिँदैन, बरु थप निरन्तरता दिने प्रयास हुन्छ,’ उनले भने, ‘बरु सचेत मतदाताले नै आफ्नो विवेक प्रयोग गरेर यस्तो प्रवृत्तिलाई निरुत्साही गर्नुपर्छ ।’ समानुपातिक निर्वाचन प्रणालीका राम्रा पक्ष धेरै भए पनि यसले विकृति पनि सँगसँगै ल्याएको उनले बताए ।

कान्तिपुर बाट

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend