दमक, भदौ ६ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं नेकपा एमालेको तर्फबाट प्रदेशको नामकरणको विषयमा सहजीकरण गर्न बनाएको कार्यदलका संयोजक हिक्मत कार्कीले तत्काल प्रदेश नामकरण हुन नसक्ने बताउनुभएको छ ।
प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कार्कीले प्रदेशको नामाकरणमा एमाले सहित सबै राजनीतिक दलहरु चुकेको बताउनुभएको हो ।
झापाको दमकमा पत्रकार भेटघाट गर्दै मन्त्री कार्कीले प्रदेशको नामकरण चुनाव अगाडी सम्भव नभएको समेत प्रस्ट पार्नु भयो । लामो समय सरकारमा रहेको र सबैभन्दा ठूलो दलको हिसाबले यसको नैतिक जिम्मेवारीमा एमाले पनि रहेको बताउनुभयो । पछिल्लो समय मुख्यमन्त्री राजेन्द्र राईको अभिव्यक्तिका कारण समस्या भएको समेत कार्कीले बताउनुभयो ।
‘‘प्रदेशको नामकरणमा हामी सबैको पहिचानको झल्कने नामको पक्षमा रहेका थियौँ र छौँ तर जातीय पहिचान झल्कने नाम अहिलेको सरकारले ल्याउन खोजेपछि समस्या भएको हो,’’ कार्कीले भन्नुभयो । तीन वर्षभन्दा लामो समय आफूहरुले प्रदेश सरकारको नेतृत्व गरेको र त्यो समयमा प्रदेशका संरचनाहरु निर्माण तथा कोरोना महामारीका कारण ध्यान त्यसमा केन्द्रित गरेकाले नामकरणको विषयमा पर्याप्त छलफल हुन नपाएको समेत कार्कीको प्रस्ट पार्नु भयो ।