दमक । फर्निचर तथा फर्निसिङ सम्वन्धि काम गर्ने कामदार र ब्यवसायीलाई सरकारले करको दायरामा ल्याउन फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ नगर कमिटी दमकले आग्रह गरेको छ ।
फर्निचर तथा फर्निसिङ ब्यवसायी संघले आज दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर दमक क्षेत्रमा पसल दर्ता नगरी सञ्चालनमा रहेका पसल र कामदारलाई स्थानिय सरकारले करको दायरामा ल्याउन माग गरिएको हो ।उनीहरुलाई करको दायरामा ल्याउन राज्यका विभिन्न निकायलाई ज्ञापन पत्र समेत बुझाएको संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।
उपभोक्ता तथा कामदारको हक हितलाई मध्यनजर गरेर पसलहरु दर्ता भए नभएको अध्ययन अवलोकन गरी उनीहरुको पसल दर्तालाई प्रक्रियामा लागेर दर्ता गर्न प्रेरित गर्ने निर्णय समेत गरेको संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
३ दिन सम्ममा दमक आसपासमा रहेर व्यवसाय गर्दै आउनुभएका व्यवसायीलाई करको दायरामा आउन सार्वजानिक सुचना समेत गर्ने संघले जनाएको छ । पत्रकारको जिज्ञासामा दमकक्षेत्रमा फर्निसिङ सम्वन्धि काम गरी रहेका ३० दक्ष कामदारहरुको कामको अवलोकन गर्दा २६ भारतीय कामदार र ४जना नेपाली कामदार भेटिएको संघकी उपाध्यक्ष लक्की सिटौला विन्दुले बताउनु भयो ।
करको दायरामा नरहेका फर्निसिङको काम गर्ने नेपाली कामदार भन्दा ५सय हाराहारीमा भारतीय कामदारहरु रहेको उपाध्यक्ष सिटौलाले बताउनु भयो । दर्ता विनाका कामदारहरुले सम्झौता नगरी घरको काम गर्ने क्रममा पेश्की रकम लिएर फरार भएको उपभोक्ताको गुनासो पनि आउने गरेको फर्निचर तथा फर्निसिङ ब्यवसायीहरुले बताएका छन् । हरेक उपभोक्ताले दर्ता विनाको कामदार तथा ब्यवसायीहरुलाई काम नगराउन पनि फर्निचर ब्यवसायी संघले अपिल गरेको छ ।