कमल बेशाख १५ । नेकपा एमालेका नेताहरुले तीनै तहमा एमाले नेतृत्वको सरकारले गरेका कामनै निर्वाचन जित्ने मुख्य आधार भएको बताएका छन् ।
संघ, प्रदेश र स्थानीय तहमा यस अघि एमाले नेतृत्वमा रहेका सरकारहरुले जन भावना अनुसार विकास र समृद्धीका लागि काम गरेकै कारण अहिले अरु सवै दल एमाले हराउने गठवन्धनमा एकतृत हुन बाध्य भएको उनीहरुको भनाई छ ।
झापाको कमल गाउँपालिकामा नेकपा एमालेले सञ्चालनमा ल्याएको मिडीया डेस्क शुभारम्भका क्रममा एमाले केन्द्रिय सदस्य मेनुका काफ्लेले कमल गाउँपालिकामा समेत ५ वर्षको अवधिमा भएका परिवर्तनले एमाले पहिलो रोजाईमा रहेको बताउनु भयो । गाउँपालिका अध्यक्ष समेत रहनु भएकी उहाँले तीनै तहका सरकारमा एमाले नेतृत्व हुँदा अन्य पार्टीहरु सधैका लागि सकिने खतरा भएकाले बाँकी सवै दल एमाले विरुद्ध गठवन्धनमा लागेको बताउनुभयो ।
यस्तै एमाले प्रदेश कमिटी सदस्य भिम केरुङ्ले गठवन्धनसँग एमाले हराउन बाहेक कुनै एजेण्डा नभएको बताउनुभयो । विकास, समृद्धी र जनजीविकाका लागि घोषणा पत्र समेत ल्याउन नसक्नेहरुलाई जनताले दण्डित गर्ने उहाँको भनाई छ ।
यस्तै एमाले जिल्ला सचिव शिव ढुंगेलले झापाका सवै स्थानी तहहरुमा एमाले प्रति बढेको जनलहरले गठवन्धनले हरेश खाई सकेको बताउनु भयो । कार्यक्रममा एमाले गाउँ कमिटी अध्यक्ष प्रेम पोखरेल, सचिव हरि ढकाल लगायतले झापा यस पटक पनि एमाले मय हुने दावि गर्नु भयो ।