logo
सोमबार, भाद्र १ २०८३

कुनै पनि जाति, धर्म र तिनका सङ्घसंस्थाहरूले आफ्ना प्रतीकचिह्नलाई कति महत्त्व दिने ?


  • भीम केरूङ
  • आइतबार, साउन ३१ २०८३

कुनै पनि जाति, धर्म वा समुदायले आफ्ना सांस्कृतिक प्रतीकचिह्नलाई महत्त्व दिनु स्वाभाविक र आवश्यक पनि हो । यस्ता प्रतीकहरूले सांस्कृतिक विविधताको संरक्षण, लोपोन्मुख भाषा, कला, परम्परा र जीवनपद्धतिको निरन्तरता तथा समुदायको आत्मसम्मान र सामाजिक सहभागिता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछन् । यी यसका सकारात्मक पक्ष हुन् ।

तर, प्रतीकचिह्नको महत्त्व जब सांस्कृतिक गौरवबाट अघि बढेर जातीय श्रेष्ठता वा विशेष स्वामित्वको दाबीमा रूपान्तरित हुन्छ, त्यहाँ जोखिम उत्पन्न हुन सक्छ ।

जातीय तथा धार्मिक सङ्घसंस्थाहरूले आफ्ना प्रतीकहरूको तीव्र र व्यापक प्रयोग गर्दै जाँदा, त्यसको अनपेक्षित परिणामका रूपमा सामाजिक दूरी र ध्रुवीकरण पनि क्रमशः बढ्न सक्ने सम्भावना हुन्छ ।

ढुङ्गामा विस्तारै लेउ लागेझैँ यस्तो ध्रुवीकरण पनि प्रारम्भमा अदृश्य रहन सक्छ । तर, समयक्रममा यसले भौतिक र सामाजिक द्वन्द्वको रूप लिन सक्ने सम्भावना पनि प्रवल रहन्छ ।

पछिल्लो समय धरान-विजयपुरमा चिण्डो (वाबुक) लाई लिएर राई र लिम्बू समुदाय तथा तिनका संस्थाबीच देखिएको विवाद यसै सन्दर्भमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने विषय बनेको छ । दुवै समुदाय आदिवासी जनजाति हुन् र ऐतिहासिक रूपमा उनीहरूबीच गहिरो सांस्कृतिक तथा सामाजिक सम्बन्ध पनि छ । मानव सभ्यताको प्रारम्भिक चरणमा आधुनिक भाँडाकुँडाको विकास हुनुअघि आजको विभिन्न समुदायले चिण्डोजस्ता प्राकृतिक वस्तुमा खाद्यपदार्थ राख्ने गरेको तथ्य पाइन्छ । तर, समयक्रममा यही चिण्डो समुदायको सांस्कृतिक अर्थ, पहिचान र प्रतीकसँग जोडिँदै गएको छ ।

आज कुनै एउटा समुदायसँग जोडिएको सांस्कृतिक प्रतीकका रूपमा चिण्डोको प्रतिमा स्थापना गर्ने विषयले दुई समुदायलाई आमनेसामने पुर्‍याउनु निश्चय नै सुखद पक्ष भने होइन । सांस्कृतिक प्रतीकहरू विभाजनका आधार होइनन्, इतिहास, स्मृति पहिचानलाई सम्मानपूर्वक जोड्ने वस्तु बन्नुपर्छ ।

समयसँगै समुदायहरूबीच सन्तुलन, सद्भाव, पारस्परिक सम्मान र अन्ततः साझा राष्ट्रिय पहिचान निर्माणमा जोडिन सकिएन भने कालान्तरमा समुदाय-समुदायबीचको दूरी अझ बढ्न सक्छ । त्यस अवस्थामा राज्यप्रतिको साझा नागरिक उत्तरदायित्वभन्दा जातीय वा धार्मिक निष्ठा बलियो बन्ने जोखिम विकसित हुन्छ यस्तो प्रवृत्तिले समाजलाई एकताबद्ध बनाउनेभन्दा विभाजित गर्ने सम्भावना बढी हुन्छ, जुन हाम्रो साझा हितमा कदापि हुँदैन ।

त्यसैले आफ्ना सांस्कृतिक प्रतीकप्रति गौरव गर्नु ठीक हो । तर, त्यसलाई अरू समुदायको अस्तित्व, पहिचान वा सम्मानको प्रतिद्वन्द्वी बनाउनु ठीक होइन । आफ्नो पहिचानको संरक्षण गर्दै अरूको पहिचानलाई पनि सम्मान गर्ने संस्कृति नै बहुलवादी र समावेशी समाजको आधार तथा सौन्दर्यको रूपमा बुझ्नुपर्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend