logo
शनिबार, साउन ३० २०८३

“बालबालिकाको स्वास्थ्य सुरक्षित भए मात्रै भविष्य सुरक्षित हुन्छ” : अध्यक्ष राई

कमलमा पोषण अभियान विस्तार


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २६ २०८३

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालन भइरहेको राष्ट्रिय पोषण लेखाजोखा अभियान विस्तार भएको छ ।

बालबालिका तथा आमाको पोषण अवस्था पहिचान गर्दै कुपोषणको समयमै रोकथाम र व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानलाई गाउँपालिकाले समुदायस्तरमै केन्द्रित गर्दै घरदैलोमा पु¥याएको हो ।

गाउँपालिकाभित्र रहेका ८ वटै स्वास्थ्य संस्थाबाट अहिले ७ वटै वडाका विभिन्न बस्ती, टोल तथा समुदायमा पुगेर पोषण परीक्षण कार्य सञ्चालन भइरहेको छ । भने प्रत्येक वडामा विभिन्न स्थानमा शिविर आयोजना गरिँदा गाउँघरमै स्वास्थ्य सेवा पुगेपछि स्थानीय वासी उत्साह रहेका छन् ।

नेपाल सरकारद्वारा देशभर सञ्चालन गरिएको यो अभियान वैशाख १५ गतेदेखि ३० गतेसम्म जारी रहनेछ । कमल गाउँपालिकाले भने अभियानलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अभियानका रूपमा अघि बढाएको जनाएको छ ।
अभियानले बालबालिकाको पोषण सुधार गर्दै गाउँपालिकाको दीर्घकालीन विकास र स्वस्थ्य समाज निर्माणसँग जोडिएको विषय भएको गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले बताउनुभयो ।

बालबालिकाको स्वास्थ्य सुरक्षित भए मात्रै भविष्य सुरक्षित हुन्छ । कुपोषणले बालबालिकाको शारीरिक मात्र होइन, मानसिक विकासमा समेत दीर्घकालीन असर पार्छ । त्यसैले समुदायका सबै परिवार यो अभियानमा जोडिन आवश्यक छ । हामी प्रत्येक घरसम्म पुगेर कुनै पनि बालबालिका परीक्षणबाट वञ्चित नहोस् भन्ने लक्ष्यका साथ काम गरिरहेका छौँ अध्यक्ष राईले भन्नुभयो ।

अध्यक्ष राईले स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिताले अभियान प्रभावकारी बन्दै गएको उल्लेख गर्दै सम्पूर्ण अभिभावकलाई आफ्ना बालबालिकाको नियमित पोषण परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

कुनै पनि बालबालिका पोषण परीक्षणबाट छुट्न नपरोस् भन्ने उद्देश्यका साथ स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायमै सक्रिय रूपमा परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताउनु भयो ।

अभियान सुरु हुनुअघि स्वास्थ्यकर्मीहरूलाई पोषण सम्बन्धी दुईदिने तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई एकदिने अभिमुखीकरण तालिम प्रदान गरिएको थियो। तालिममार्फत पोषण परीक्षण, कुपोषण पहिचान, जोखिम मूल्याङ्कन तथा आवश्यक परामर्शसम्बन्धी विषयमा दक्षता अभिवृद्धि गरिएकोले पनि कार्यक्रम प्रभावकारी रुपमा सन्चालन भएको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले जानकारी दिनुभयो ।

अभियान विशेषगरी ‘सुनौलो हजार दिन’ अवधिका आमा तथा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको छ । परीक्षणका क्रममा बालबालिकाको उचाइ, तौल, पाखुराको मध्यभागको परिधि (UAC) तथा शरीर सुन्निने अवस्था (Oedema) जाँच गरी पोषण अवस्था मूल्याङ्कन गरिँदै आएको छ ।

गाउँपालिकाले अभियानमार्फत करिब ४ हजार बालबालिका तथा १ हजार ४ सय आमाको पोषण परीक्षण गर्ने लक्ष्य लिएको छ । परीक्षणका क्रममा कुपोषणको जोखिममा रहेका बालबालिकालाई आवश्यक परामर्श, निगरानी तथा उपचार सेवामा समेत जोड्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

हाल गाउँपालिकाका विभिन्न टोलहरूमा सञ्चालन भइरहेका शिविरहरूमा स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू बिहानदेखि नै सक्रिय रूपमा खटिएका छन् । कतिपय स्थानमा घरघरमै पुगेर बालबालिकाको पाखुराको मापन गरिँदैछ भने कतै सामुदायिक भवन, खोप केन्द्र, विद्यालय तथा बाल विकास केन्द्रमार्फत सेवा प्रदान भइरहेको छ ।

स्वास्थ्यकर्मीहरूले अभिभावकलाई सन्तुलित आहार, स्तनपान, सरसफाइ तथा बालबालिकाको नियमित पोषण परीक्षणबारे जानकारी दिइरहेका छन् । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई तयारी उपचारात्मक खाना प्रयोग गर्ने तरिका तथा थप स्वास्थ्य सेवाबारे परामर्शसमेत प्रदान भइरहेको स्वस्थ्य शाखाले जनाएको छ ।

कमल गाउँपालिकामा सञ्चालन भइरहेको यो अभियानले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै कुपोषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend