कमल । झापा बाट इलाम र मोरङको सिमानामा अवस्थित रमणीय स्थल कुइनेटार खुँडी सम्मको यात्रा कमला–मदन आश्रित स्मृति माध्यमिक विद्यालयका शिक्षक, स्टाप लागि अविस्मरणीय बन्यो । विद्यालयले आयोजना गरेको वार्षिक बनभोज कार्यक्रम केवल मनोरञ्जनमा सीमित रहेन, यसले शैक्षिक सहकार्य, आपसी आत्मीयता र प्रकृतिसँगको नजिकपनलाई समेत मजबुत बनाएको थियो ।
हरियाली डाँडाकाँडा, शीतल हावा र खुला आकाशले स्वागत गरेको कुइनेटार खुँडीमा बिहानै देखि चहलपहल सुरु भएको थियो । झापाबाट बस मार्फत आएका सहभागीहरू यात्रा अवधिभर गीत संगीत र हास्यव्यङ्ग्यमा रमाउँदै गन्तव्यमा पुगेका थिए । प्राकृतिक सौन्दर्यले भरिएको स्थानमा पुग्नासाथ उत्साहित हुनुका साथै दैनिकीको तनावबाट मुक्त भएको अनुभूति गरिरहेका थिए ।
कार्यक्रमको औपचारिक सुरुआत विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिको स्वागत मन्तव्यबाट भयो । उनले विद्यालयको शैक्षिक उन्नयन सँगै सह–पाठ्यक्रम गतिविधिलाई पनि उत्तिकै प्राथमिकता दिइएको उल्लेख गर्दै बनभोज जस्ता कार्यक्रमले शिक्षक अभिभावको सम्बन्धलाई थप मजबुत बनाएको थियो ।

विद्यालयका प्रधानाध्यापकले पनि यस्तो कार्यक्रमले सामाजिक सीप, अनुशासन र सामूहिक भावनाको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
बनभोजमा विभिन्न खेलकुद प्रतियोगिता, सामूहिक नृत्य, कविता वाचन र सांस्कृतिक प्रस्तुतिहरूले माहोलले थप रौनकपूर्ण बनाएको थियो । दैनिकीको व्यस्ताता बिच खुलला आकाश मुनि नृत्य र गीतले सबैको मन लोभ्याएको थियो ।
शिक्षक र अभिभावक समेत खेलकुद र मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुँदा वातावरण झनै जीवन्त बनेको थियो ।कार्यक्रमको अर्को आकर्षण सामूहिक भोजन रह्यो। स्थानीय स्वाद र परिकारले सबैलाई सन्तुष्ट बनायो । एउटै थलोमा बसेर भोजन गर्नुले सहभागीहरूबीच आत्मीयता झनै बढेको देखिन्थ्यो ।
अभिभावकहरूले विद्यालयले शैक्षिक गतिविधिसँगै यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै । उनीहरूले विद्यालयप्रति विश्वास बढेको र भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर बरालले बताउनु भयो ।

कुइनेटार खुँडीको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै फोटो खिच्ने र अनुभव साटासाट गर्ने क्रमले समेत झनै रमाइलो बनाएको थियो । साँझपख कार्यक्रम समापन हुँदै गर्दा सहभागीहरूको अनुहारमा थकान भन्दा बढी सन्तुष्टि झल्किन्थ्यो ।
समग्रमा, कमला–मदन आश्रित स्मृति माध्यमिक विद्यालयको बनभोज कार्यक्रमले शिक्षा, मनोरञ्जन र प्रकृतिको सुन्दर संगम प्रस्तुत गरेको थियो । यसले विद्यालय समुदायलाई अझ एकताबद्ध बनाउनुका साथै विद्यार्थीका लागि जीवनोपयोगी सिकाइको अवसर समेत प्रदान गरेको थियो ।