logo
शनिबार, साउन ३० २०८३

श्राेत खुम्चिएको कारण प्रदेशको बजेटको आकार प्रत्येक वर्ष घट्दो छ : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ ३१ २०८२

गौरादह । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रोत खुम्चिएको कारण प्रदेशको बजेटको आकार प्रत्येक वर्ष घट्दो रहेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७५ / ७६ मा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको भएपनि अहिले ३६/ ३७ अर्बको मात्रै ल्याउनुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

आज झापाको गौरदह क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले संघीय सरकारले केही श्रोतहरु अहिले रोकेको चर्चा गर्दै आगामी बजेट ३६/३७ अर्बको आउन सक्ने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ तर वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ।’

मुख्यमन्त्रीले बजेट तयारीको अन्तिम चरण सकिएको र भोलि प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिने जानकारी पनि दिनुभयो। उहाँले श्रोत व्यवस्थापनमा चुनौती रहँदा केन्द्र सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “कतिपय श्रोतमा केन्द्र सरकारले कानुन बनाएर अधिकार दिन बाँकी छ, कतिपय श्रोत बन्द नै गरिएको छ।”

प्रदेश सरकारको बजेटले शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ। सीमित स्रोतका कारण अपेक्षा अनुसारको बजेट ल्याउन कठिनाइ भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

गौरदह को विकासमा महत्वपूर्ण भूमिका खेलेको सो क्याम्पस को विविध पक्षबारे पनि मुख्यमन्त्रीले चर्चा गर्नुभयो।

उहाँले क्याम्पसको स्तरउन्नति र भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्यमन्त्री कार्कीले सो अवसरमा क्याम्पसबाट विदाई हुन लाग्नुभएका शिक्षकहरू आगामी दिनको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend