logo
शनिबार, साउन ३० २०८३

एमाले उम्मेदवार सुहाङ नेम्बाङको घरदैलो आजदेखि फाकफोकथुममा


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख १ २०८१

इलाम– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) , नेकपा र नेपाल परिवार दलका साझा उम्मेदवार सुहाङ नेम्बाङको घरदैलो अभियान आज (वैशाख १) देखि फाकफोकथुम गाउँपालिकामा हुँदैछ ।

वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवार सुहाङको टोलीले माङ्सेबुङ गाउँपालिकाको चुनावी घरदैलो मैजारो गरेर फाकफोकथुम लागेको हो ।

माङ्सेबुङमा हिजो (चैत ३०) मा सात कार्यक्रम सम्पन्न भएका छन् । वडा २ का याङरूपे, यावा, प्रगतिचोक र चारसुरे तथा वडा १ को तोभाङ, पाटीगाउँ, नाङरुङ चोक हुँदै देउरालीका कार्यक्रम सकिएका छन् ।

इभाङमा पुगेका सुहाङले सहिद रत्नकुमार बान्तवाको सहादतस्थलमा रहेको बान्तवाको सालिकमा माल्यार्पण र सम्मान प्रकट गर्नुभएको छ । त्यस अवसरमा सुहाङले सहिद बान्तवाले देखाएको बाटोमा सदैव लाग्ने, वहाँले देखेका सपना पूरा गर्न आफू सधैं दृढ रहेको बताउनुभयो ।

‘सहिद रत्नले देख्नुभएको सपना पूरा गर्न एमाले सधैं प्रयास गर्छ,’ एक इमान्दार कार्यकर्ता हुनुका नाताले र यस क्षेत्रबाट प्रतिनिधिसमेत भएको अवस्थामा मैले रत्नको सपना पूरा गर्न आफूले सकेको जिम्मेवारी पूरा गर्नु नै छ ।’

२०७९ सालको निर्वाचनको चुनावी अंकगणितका आधारमा सुहाङ क्षेत्र २ मा करिब ११ हजार मतले अरू उम्मेदवारभन्दा अघि छन् । यसपटक एमालेमात्र नभई माओवादीलगायत थप तीन दलको समेत समर्थन रहेकाले आउँदो १५ गतेको उपनिर्वाचनमा साझा उम्मेदवार सुहाङ नै विजयी हुनेमा एमाले, माओवादी, नेकपा र परिवार दल ढुक्क देखिन्छन् ।

एमाले एक्लैले २०५६ सालयताका सबै निर्वाचनमा विजय हासिल गरिरहेको यो क्षेत्रमा यस पटक अन्य दलसमेतको समर्थन रहेकाले अरूसँग प्रतिस्पर्धा नै नभई फराकिलो मतान्तरले विजयी बन्नेमा सुहाङको टोली विश्वस्त छ ।

माङ्सेबुङअघि चुलाचुली गाउँपालिकाको घरदैलो अभियान सकिएको छ । फाकफोकथुमबाट देउमाई हुँदै घरदैलो अभियान इलाम नगरपालिका आएर १२ गतेअघि नै माई नगरपालिकासम्म जानेछ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend