logo
शुक्रबार, साउन २९ २०८३

मिसन ८४ केही सिट लिएर अर्को दलसँग टासिने एमालेको लक्ष्य होइन : स्थायी कमिटी सदस्य कार्की


  • कुइनेटो न्युज
  • सोमबार, फाल्गुन २१ २०८०

झापा । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

गत फागुन १६ गते पार्टीका जनसंगठनहरु बीच सञ्चालन गरिएको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका १५ वटै पालिकाका टिमबीच आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो ।

यो वर्ष एमाले झापाले ५१औं सुखानी शहीद दिवसको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो । सोही क्रममा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जिल्ला सचिव शिव ढुंगेलले बताए ।

हरेक टिममा ५–५ जना प्रतियोगी सहभागी भएको जिल्लास्तरीय प्रतियोगितामा दमक नगरपालिकाको टिम प्रथम, शिवसताक्षी नगरपालिकाको टिम दोस्रो र गौरादह नगरपालिकाको टिम तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई प्रोत्साहन स्वरुप क्रमशः दुई हजार ५००, दुई हजार र एक हजार ५०० नगदसहित ५–५ वटा डायरी, नुहाउने सावुन र टुथपेष्ट पुरस्कार प्रदान गरियो ।

सहभागी टिममध्ये शान्त एवम् अनुशासित टिमका रुपमा कचनकवल गाउँपालिकाको टिमलाई चयन गरी नगद एक हजार ५०० र ५ थान डायरी प्रदान गरिएको एमाले जिल्ला कार्यालय सचिव छविलाल विश्वकर्माले जानकारी दिए ।

उत्कृष्ट स्थान हासिल गर्ने टिमहरुलाई एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, केन्द्रीय लेखा आयोगका सदस्य जसमाया गजमेरसहितका नेताहरुले पुरस्कार हस्तान्तरण गरेका थिए ।

उक्त प्रतियोगिताको उद्घाटन एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दर्शकदीर्घामा रहेका नेता कार्यकर्ताहरुलाई अप्रतियोगी प्रश्न सोधेर गरेका थिए ।

पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा आयोजित प्रतियोगितामा उद्घाटन मन्तब्य राख्दै पार्टी स्थायी कमिटीका सदस्य कार्कीले बहुमत नेपाली जनताको साथ लिएर नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न हालै सम्पन्न केन्द्रीय कमिटीले निर्णय गरेको बताए ।

नेकपा एमाले कुनै विदेशीहरुले आफ्नो प्रभुत्व जमाउन नेपालमा जन्माएको पार्टी नभई कम्युनिष्ट सिद्धान्त र आदर्श बोकेर ७५ वर्ष अघि जन्मिएको पार्टी हो भन्दै स्थायी कमिटीका सदस्य कार्कीले एमाले वैज्ञानिक विचार र जनताको बहुदलीय जनवाद सिद्धान्त, दर्शन र कार्यक्रम बनाएको पार्टी, माक्र्सवाद र लेलिनवाद सिद्धान्तलाई आत्मसाथ गरेको पार्टी भएको धारणा राखे ।

‘विचार सिद्धान्त कार्यक्रम सबै हिसावले नेपालको पहिलो पार्टी एमाले नै हो र गत आम निर्वाचनमा देशमा नै सबैभन्दा धेरै लोकप्रिय मत पाएको पार्टी पनि एमाले नै हो’ कोशी प्रदेशका पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘यस्तो शक्तिशाली भएकै कारण बेलाबेला एमालेमाथि भ्रामक कुराहरु छरेर कमजोर बनाउने प्रयत्न हुने गरेको’ पनि प्रष्ट पारे ।

नेकपा एमाले देशकै पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित नभएसम्म मुलुकले काँचुली नफेर्ने भएकाले मिसन ८४ लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाउँदै नेता कार्कीले मिसन ८४ केही सिट लिएर अर्कोदलसँग टासिने एमालेको लक्ष्य नभएको पनि प्रष्ट पारेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend