logo
मंगलबार, कार्तिक ११ २०८३

जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोतिाको उपाधि भद्रपुरको पोल्टामा


  • राम निरौला
  • बिहिबार, माघ १८ २०८०

कनकाई खबर÷ झापाको सुरुङ्गामा सम्पन्न जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ ।

उपाधिसँगै भद्रपुर नगरपालिकाले नगद पुरस्कार रु.१ लाख ११ हजार, प्रमाण पत्र र ट्रफी हात पारेको हो । प्रतियोगितामा भद्रपुर र शिवसताक्षी नगरपालिका बिच प्रतिस्पर्धा भएको थियो । निर्धारित समय सम्म दुवै टिमबाट कुनै गोल नभएपछि ट्राइबेकरबाट खेलको निर्णय भएको प्रतियोगिताका खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुने शिवसताक्षी नगरपालिकाले ७५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट गोल किपरका रुपमा भद्रपुरका दिपाङ्सु राउत घोषित भए । राउतले पुरस्कार स्वरुप नगद २ हजार १सय प्राप्त गरे । त्यस्तै म्यानअफ द म्याच भद्रपुरका खेलाडी कर्ण लिम्बू घोषित भए । उनलाई नेपाल खेलकुद महासंघ कनकाई नगरका इञ्चार्ज पूर्ण लिम्बूले स्पोन्सर गरेको नगद २ हजार १ सय रुपैंयाको पुरस्कार राशी प्रदान गरेको बताइएको छ ।

त्यस्तै प्रतियोगिताको म्यानअफ द सिरीज शिवसताक्षीका खेलाडी अमन लामा घोषित भए । शिवसताक्षीका टिम कप्तान समेत रहेका लामालाई युवा समाजसेवी एवं एक सफल व्यवसायी सुनिल भेट्वालले स्पोन्सर गरेको नगद ५ हजार पुरस्कार प्रदान गरियो ।प्रतिायोगिताको हाइस्कोररका रुपमा भद्रपुरका शक्ति राई घोषित भए । उनलाई नगद २ हजार १ सयको पुरस्कार राशि प्रदान गरियो ।

‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’भन्ने मुल नाराका साथ प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरु संचालन गर्दै आएको बताइएको छ ।

कनकाई खेलकुद प्रतिष्ठानले कनकाई माविको खेल मैदानमा संचालन गरेको प्रतियोगिता माघ ६ गतेदेखी संचालन भएको हो । कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग रहेको प्रतियोगितामा झापाका १० वटा पालिकाले सहभागीता जनाएका थिए ।

प्रतियोगिताको हरेक दिनको खेलमा स्थानीय खेलप्रेमी व्यक्तित्वहरुबाट म्यानअफ द म्याच बापतको नगद पुरस्कार रु.२हजार १सय सहयोग स्वरुप प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए । प्रतियोगितामा म्यानअफ द म्याच स्पोन्सर गर्नेहरुमा क्रमशः स्थानीय नर्वदा किराना पसलका संचालक केशव श्रेष्ठ, पालिघरका संचालक समेत रहेका भेट्रान क्लवका अध्यक्ष श्याम राई, प्रतिष्ठानका निवर्तमान अध्यक्ष दिननाथ खतिवडा, एल.एस.कन्स्ट्रक्सन कम्पनीका संचालक डम्बर फुयाल, जगदम्बा हार्डवेयरका संचालक याम संग्रौला, क्याम्ब्रीज आइटी कलेजका संचालक श्रीकृष्ण उप्रेती लगायतको सहयोग रहेको अध्यक्ष थपलियाले बताए । खेलमा पुर्व राष्ट्रिय खेलाडी लयप्रसाद उप्रेतीको समेत सहयोग रहेको बताइएको छ ।

प्रतिष्ठानका अध्यक्ष छबी थपलियाको सभापतित्व रहेको प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट भएको थियो भने समापन समारोहमा प्रतिनिधि सभा सदस्य एल.पी.साँवा लिम्बू प्रमुख अतिथी रहेका थिए । समापन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला साथै शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, प्रतिष्ठानका पूर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको प्रतिष्ठानका सदस्य मोहन थापाले बताए । उपाध्यक्ष अम्बिका खरेलले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन सदस्य मोहन थापाले गरेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend