झापा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण हेडक्वार्टर झापाबाट खटिएको गस्ति टोलीले गए राति विभिन्न प्रकारका विस्फोटक पटका बरामद गरेको छ ।
नम्बर ३८ रिजर्भ गण हेड क्वाटर बाट सशस्त्र प्रहरी उपरिक्षक दिनेश कुमार बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत झिलझिले र केर्खा आसपासको क्षेत्रबाट विभिन्न प्रकारका पटका बरामद गरेको हो ।
बरामद गरिएका पटकाको मूल्य करिब तीन लाख ५० हजार रुपैयाँ मुल्य बराबर रहेको सशस्त्र प्रहरी उपरिक्षक दिनेश कुमार बस्नेतले बताउनु भयो । बरामद गरिएका पटक आज विहान सशस्त्र प्रहरीको टोलीले डिस्पोज गरेको समेत उपरिक्षक बस्नेतले जानकारी दिनुभयो ।

चाडपर्व नजिकिँदै जाँदा बजारमा पटका तथा अन्य विस्फोटकजन्य सामग्रीको अवैध ओसारपसार र बिक्रीवितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायले निगरानी बढाइरहेका बेला सशस्त्र प्रहरीले उक्त सामग्री बरामद गरेको हो ।
पटका तथा अन्य विस्फोटकजन्य सामग्रीको अनियन्त्रित प्रयोगले जनधनको क्षति हुनुका साथै आगलागी, ध्वनि प्रदूषण र वातावरणीय असर निम्त्याउनु का साथै विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकका लागि यस्ता सामग्रीको प्रयोग जोखिमपूर्ण हुनसक्ने सम्भावना रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपालमा प्रचलित कानुनले निषेध गरेका विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण तथा बिक्रीवितरण नियन्त्रण गर्न सुरक्षा निकायले समय समयमा निगरानी र चेकजाँच गर्दै आएका छन्। यस्ता सामग्रीको अवैध कारोबार रोक्न सीमा क्षेत्र, राजमार्ग तथा बजार क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।
झापा सहित पूर्वी नेपालका विभिन्न बजार क्षेत्रमा चाडपर्वका समयमा पटका तथा अन्य विस्फोटक सामग्रीको माग बढ्न सक्ने भएकाले यसको अवैध कारोबार नियन्त्रण गर्नु सुरक्षा निकायका लागि चुनौतीपूर्ण हुने गरेको छ । यस्ता सामग्रीको प्रयोगबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न सर्वसाधारणलाई सचेत गराउनुका साथै अवैध रूपमा बिक्रीवितरण गर्ने व्यक्तिमाथि कानुनअनुसार कारबाही समेत हुने कानुनी व्यवस्था रहेको सशस्त्र प्रहरीले जनाएको छ ।