कमल । झापाको कमल गाउँ पालिका स्थित कमल नगर अस्पतालमा कुष्ठरोग प्रमाणिकरण कार्यक्रम सम्पन्न भएको छ
गाउँ पालिकाकाे आर्थिक वर्ष २०८२/०८३ को राष्ट्रिय कुष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत कमल गाउँपालिकामा औषधि उपचार गराइरहेका कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि बुधबार कमल नगर अस्पतालमा कुष्ठरोग प्रमाणिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले उपचाररत बिरामीहरूको स्वास्थ्य परीक्षण गरी कुष्ठरोग प्रमाणिकरण गर्नुका साथै आवश्यक उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्नुभयो। विशेषज्ञ चिकित्सकबाट आफ्नै गाउँपालिकामै सेवा प्राप्त गर्न पाउँदा सहभागी बिरामीहरूले खुसी व्यक्त गर्दै यस्ता विशेषज्ञ सेवा नियमित रूपमा सञ्चालन हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहालले कुष्ठरोगको समयमै पहिचान, नियमित औषधि सेवन, विशेषज्ञद्वारा गरिने प्रमाणिकरण तथा निरन्तर अनुगमनले रोग नियन्त्रणका साथै अपाङ्गता रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिनुभयो।
यस अवसरमा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाभित्र उपलब्ध गराउनु रहेको जानकारी दिनुभयो। उहाँले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार हुनु स्थानीय सरकारको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सेवा अझ प्रभावकारी रूपमा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले कुष्ठरोगप्रति समाजमा रहेका भ्रम, डर तथा विभेदको अन्त्य गर्दै समयमै परीक्षण र नियमित उपचारमा सहभागी हुन सबै नागरिकलाई आग्रह गर्नुभयो। स्वास्थ्य कार्यालय झापाले नेपाल कुष्ठरोग सङगति सगको समन्वय मा यस्ता कार्यक्रम निरन्तरता का लागि आग्रह गरिने बताउनुभयो।
उक्त कार्यक्रम स्वास्थ्य कार्यालय झापा र नेपाल कुष्ठरोग संगति झापाको समन्वय तथा कमल गाउँपालिका स्वास्थ्य शाखाको व्यवस्थापनमा सम्पन्न भएको हो। हाल कमल गाउँपालिकामा कमल नगर अस्पताल र लखनपुर स्वास्थ्य चौकीबाट कुष्ठरोग प्रभावित बिरामीहरूको नियमित उपचार सेवा सञ्चालन भइरहेको छ।
कार्यक्रममा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, कमल नगर अस्पतालका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक (टीबी/कुष्ठरोग फोकल पर्सन) कुशल श्रेष्ठ, तथा लखनपुर स्वास्थ्य चौकी प्रमुख एवं जनस्वास्थ्य निरीक्षक (टीबी/कुष्ठरोग कार्यक्रम फोकल पर्सन) देवराज पराजुली लगायत सम्बन्धित स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले उपचाररत कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराई उपचारको गुणस्तर अभिवृद्धि गर्नुका साथै रोगको प्रभावकारी व्यवस्थापन र अपाङ्गता न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने गाउँ पालिकाले जनाएको छ ।