कमल । कमल गाउँपालिका आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बजार अनुगमन गरीएकाे छ ।
“आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९” तथा स्तनपान प्रवर्द्धन एवं संरक्षणसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निजी क्लिनिक, फार्मेसी तथा अस्पतालहरूमा अनुगमन तथा निरीक्षण गरेको हाे ।
गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई को नेतृत्वमा गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सहभागितामा अनुगमन गरिएको हो।

निरीक्षणका क्रममा स्वास्थ्य संस्थाहरूमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री–वितरण, प्रचार–प्रसार तथा ऐनमा उल्लेखित मापदण्डहरूको पालना भए/नभएको विषयमा विस्तृत मूल्याङ्कन गरिएको थियो।
अनुगमनका क्रममा उत्पादनको लेबलिङ्ग, नेपाली भाषामा सूचना, प्रयोग विधि, आमाको दूध सर्वोत्तम आहार भएको स्पष्ट उल्लेख, भ्रामक विज्ञापन तथा प्रचार सामग्रीको प्रयोग, निःशुल्क नमुना वितरण, स्वास्थ्य संस्थामा कम्पनीका प्रचार सामग्री, स्वास्थ्यकर्मीलाई दिइने प्रलोभन, फिडिङ बोतलको प्रचार–प्रसार, तथा ऐन र नियमावलीको पालना लगायतका विषयमा विशेष ध्यान दिइएको थियो।
अध्यक्ष राईले नवजात तथा शिशुको स्वास्थ्य संरक्षणका लागि स्तनपान प्रवर्द्धन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुहरूको अनियन्त्रित प्रचार–प्रसार र बिक्री वितरणलाई ऐनअनुसार नियमन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्वास्थ्य संस्थाहरूलाई कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै स्तनपानमैत्री वातावरण निर्माण गर्न आग्रह गर्नुभयो।
कमल गाउँपालिकाले शिशु तथा बाल स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा स्तनपान प्रवर्द्धनलाई प्राथमिकतामा राखी यस्ता अनुगमन तथा सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। निरीक्षणका क्रममा प्राप्त सुझाव तथा निष्कर्षका आधारमा आवश्यक सुधारात्मक कदमहरू समेत अघि बढाइने गाउँपालिका अध्यक्ष राइले बताउनु भयाे