कमल / झापाकाे कमल गाउँपालिका १ मा महिलाहरूका लागि पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण तथा स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजना तथा आधारभुत स्वास्थ्य केन्द्र कमल १ वासवारीकाे समन्वयमा नि:शुल्क शिविर सम्पन्न भएकाे हाे ।

गाउँपालिकाले समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार, रोगको समयमै पहिचान तथा रोकथाम, जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ ।
शिविरमा उपस्थित ४१ जना महिलाहरूकाे पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण तथा स्क्रिनिङ गरिएको थियो।
शिविरमा सहभागी महिलाहरूकाे स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहाल, डा. रेश्मा दाहाल , प्राविधिक परीक्षण कार्य सि.अ.न.मि निरीक्षक हेमा देवी मगर,सबिता गुरुङ, अ.न.मि. विन्द्रा राई र अ.न.मि. सिता फुयल लगायतले परिक्षण गर्नुभएको थियो।
स्वास्थ्य शिविरकाे उद्घाटन कमल १ का वडा अध्यक्ष अध्यक्ष केदार कटुवालले गमलामा रहेकाे बिरुवामा पानी हालेर गर्नुभएको थियो।

उद्घाटन पछि मन्तव्यका क्रममा कटुवालले पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले यसको जोखिम उच्च रहने उल्लेख गर्दै नियमित स्वास्थ्य परीक्षणको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
वाईट …. केदार कटुवाल/ अध्यक्ष /कमल १
समयमै जाँच गरौं, पाठेघरको मुखको क्यान्सरबाट जोगिऔं” भन्ने सन्देश प्रवाह गर्दै सबै योग्य महिलाहरूलाई नियमित रूपमा स्क्रिनिङ सेवामा सहभागी हुन आग्रह गर्दै रोग लागेपछि उपचारमा जानुभन्दा नियमित जाँच र स्क्रिनिङमार्फत रोकथामतर्फ ध्यान दिनुपर्नेमा अध्यक्ष कटुवालले जोड दिनुभयो।
कार्यक्रमकाे सञ्चालन जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले गर्नुभएको थियो भने सि.अ.न.मि निरीक्षक हेमा देवी मगरले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।