logo
शुक्रबार, साउन २९ २०८३

कमल–६ मा स्वास्थ्य परीक्षण सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, माघ २४ २०८२

कमल । कमल गाउँपालिका ६ खयरबारी स्थित जनजागरण टोल, सन्तानेश्वर शिव मन्दिर परिसरमा  शुक्रबार नसर्ने रोगहरूको समयमै पहिचान गर्ने उद्देश्यले ३० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित स्वास्थ्य परीक्षण (Screening) कार्यक्रम सम्पन्न भएको छ।

कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्देश्य समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको थियो। कार्यक्रममा सहभागी नागरिकहरूको मधुमेह (सुगर) जाँच, रक्तचाप (Blood Pressure) मापन, मृगौला सम्बन्धी रोगको प्रारम्भिक जाँच तथा उचाइ र तौलको (BMI) मापन गरिएको थियो।

कार्यक्रमका क्रममा स्वास्थ्यकर्मीहरूले नसर्ने रोगहरूको जोखिम, रोगको समयमै पहिचानको आवश्यकता, स्वस्थ जीवनशैली अपनाउने उपाय, सन्तुलित आहार तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे सहभागीहरूलाई जानकारी गराएका थिए। कमल–६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईका अनुसार समुदायमा बढ्दो रूपमा देखिँदै आएका उच्च रक्तचाप, मधुमेह तथा मृगौला सम्बन्धी रोगहरूको प्रारम्भिक अवस्थामै पहिचान गरी समयमै उपचारतर्फ उन्मुख गराउनुका साथै रोग लाग्न नदिन जीवनशैली र खानपानमा सुधार ल्याउनु नै कार्यक्रमको मुख्य उद्देश्य हो।

स्थानीय बासिन्दाहरूले आफ्नै टोल–समुदायमै निःशुल्क रूपमा स्वास्थ्य परीक्षण सेवा पाउन पाउँदा खुशी व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमबाट आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सहयोग पुग्नुका साथै रोगको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन्।

कमल गाउँपालिकाले आगामी दिनहरूमा पनि समुदायस्तरमा यस्ता नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। यस प्रकारका कार्यक्रमबाट नागरिकमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि हुनुका साथै समग्र समुदायको स्वास्थ्य अवस्थामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend