logo
मंगलबार, कार्तिक ११ २०८३

कमल नगर अस्पतालमा नियमित दन्त ओपीडी सेवा प्रभावकारी बन्दै


  • कुइनेटो न्युज
  • बिहिबार, माघ ८ २०८२

कमल । कमल गाउपालिकाको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कमल नगर अस्पताल तोपगाछीमा हरेक हप्ता आइतबार र बिहीबार सञ्चालन हुँदै आएको नियमित दन्त ओपीडी सेवा आज बिहीबार पनि सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय नागरिकहरूलाई गुणस्तरीय तथा सुलभ दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालन गरिएको उक्त सेवा दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, दमक को सहकार्यमा निरन्तर रूपमा सञ्चालन हुँदै आएको हो।

दन्त स्वास्थ्यमा विशेषज्ञ सेवा

आजको दन्त ओपीडी सेवामा डा. टंक न्यौपाने (Dental Surgeon – BDS) ले दाँत तथा मुखसम्बन्धी विविध समस्या भएका सेवाग्राहीहरूको जाँच, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गर्नुभएको थियो। दाँत दुख्ने, किरा लाग्ने, गिजाको समस्या, मुखको सरसफाइ, दन्त स्वास्थ्यसम्बन्धी परामर्श तथा रोकथामका उपायबारे जानकारी दिइएको अस्पताल प्रमुख दिपक प्रसाद दहालले जनाएका छन ।

सेवाग्राहीहरूले अस्पतालमै विशेषज्ञ डाक्टरबाट सेवा पाउँदा समय र खर्च दुवै बचत भएको प्रतिक्रिया दिएका छन्। विशेषगरी आर्थिक रूपमा कमजोर तथा टाढाबाट दमक वा अन्य सहर जान नसक्ने नागरिकहरूका लागि यो सेवा अत्यन्त उपयोगी बनेको स्थानीयको भनाइ छ।

नियमित जाँचको महत्वबारे सचेतना

दन्त ओपीडी सेवाका क्रममा डा. न्यौपानेले नियमित दन्त तथा मुख स्वास्थ्य जाँच नगर्दा दीर्घकालीन समस्या देखिन सक्ने भन्दै समय–समयमा दाँत जाँच गराउन आग्रह गर्नुभएको थियो। उहाँले दाँत र मुखको सरसफाइ, सही तरिकाले ब्रस गर्ने विधि, खानपानमा ध्यान दिनुपर्ने विषय तथा बालबालिकादेखि वृद्धसम्म सबैले दन्त स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नगर अस्पतालको सेवा विस्तारतर्फको पहल

कमल नगर अस्पतालले पछिल्लो समय आधारभूत स्वास्थ्य सेवासँगै विशेषज्ञ सेवा विस्तारमा समेत जोड दिँदै आएको छ। दन्त ओपीडी सेवा त्यसकै एक महत्वपूर्ण उदाहरण रहेको कमल गाउपालिका अध्यक्ष तथा अस्पताल सन्चालन व्यवस्थापन समितीका अध्यक्ष हुकुम सिह राईको भनाइ छ। स्थानीय तहको पहल र निजी स्वास्थ्य संस्थासँगको सहकार्यले ग्रामीण क्षेत्रमा पनि विशेषज्ञ सेवा सम्भव भएको अध्यक्ष राई ले जनाउनु भएको छ।

कमल २ वडा अध्यक्ष तथा अस्पताल संचालन व्यवस्थापन समितीका सदस्य अशोक सुब्बाका अनुसार आगामी दिनमा पनि यस्ता सेवाहरूलाई थप व्यवस्थित, नियमित र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको छ। यसले समुदायस्तरमै रोगको पहिचान र उपचार सम्भव भई जनस्वास्थ्य सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय नागरिकको सकारात्मक प्रतिक्रिया

दन्त ओपीडी सेवाबाट लाभ लिएका सेवाग्राहीहरूले सेवा सहज, छिटो र प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्। “घर नजिकै विशेषज्ञ सेवा पाउँदा धेरै सजिलो भएको छ,” कमल १ कि सेवाग्राही सध्या बुढाथोकिले बताइन। यस्तै सेवाले निरन्तरता पाउनुपर्ने उनीहरूको माग छ।

आगामी सेवा मिति सार्वजनिक

कमल नगर अस्पतालले नियमित रूपमा सञ्चालन गर्दै आएको दन्त ओपीडी सेवा आगामी आइतबार, मिति २०८२/१०/११ गते पुनः सञ्चालन हुने जानकारी दिएको छ। अस्पतालले आवश्यक परेमा सेवाग्राहीहरूलाई समयमै उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend