logo
मंगलबार, कार्तिक ११ २०८३

कमल नगर अस्पताल व्यवस्थापन समितिको बैठक सम्पन्न

गुणस्तर सेवा वृद्धि र आँखा सेवा जाँच उपचार सेवा विस्तारतर्फ ध्यान केन्द्रित


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक ३० २०८२

कमल। कमल नगर अस्पताल व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकले अस्पतालको सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै सेवाग्राहीलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित केही महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षत्वमा बसेको बैठकमा अस्पतालले हाल सञ्चालन गर्दै आएको सेवा, आगामी दिनमा विस्तार गर्न लागिएको कार्यक्रम तथा सेवा सुधारका उपायहरूबारे विस्तृत छलफल भएको थियो।

आँखा जाँच तथा परिक्षण सेवा विस्तारको तयारी

बैठकमा मानसिक स्वास्थ्य तथा दन्त सेवाजस्ता नियमित हुँदै आएका विशेषज्ञ सेवालाई अझ सुदृढ गर्नुका साथै आँखा जाँच तथा सम्बन्धित परिक्षण विशेषज्ञ सेवा थप गर्ने विषयमा विशेष निर्णय गरिएको छ।
अस्पतालले मासिक रूपमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा तथा हप्तामा दुई दिन दन्त सेवा उपलब्ध गराउँदै आएको छ। यसको प्रभावकारितालाई मध्यनजर गर्दै अब नेत्र–सम्बन्धी जाँच, परामर्श तथा आवश्यक उपचार सेवा चाँडै सञ्चालन गर्ने तयारी भइरहेको समितिले जनाएको छ।

कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल संचालन व्यवस्थापन समिती अध्यक्ष हुकुम सिह राईका अनुसार सेवा विस्तारका लागि आवश्यक उपकरण, मानव संसाधन तथा पूर्वाधार सुधारको प्रक्रिया सुरु भइसकेको छ। उहाँले आगामी केही समयभित्रै स्थानीयवासीले घरमै नजिकबाट आँखा सेवाको पहुँच पाउने विश्वास व्यक्त गर्नुभयो।

सेवा प्रवाहलाई सहज र छरितो बनाउन रणनीतिक योजना

बैठकले अस्पतालको दैनिक सेवा प्रवाह अझ सहज बनाउन विभिन्न रणनीतिक कदमहरू अपनाउने निर्णय पनि गरेको छ।
अस्पताल प्रमुख दीपक दाहालका अनुसार आगामी दिनमा निम्न विषयमा विशेष ध्यान केन्द्रित गरिँदैछ—

प्रविधिको प्रयोगलाई बढाउँदै बिरामी दर्ता, परामर्श तथा रिपोर्टिङ प्रणालीलाई सरल बनाउने

दक्ष जनशक्ति व्यवस्थापन, नियमित तालिम तथा आवश्यक विशेषज्ञ जनशक्ति थप्ने

भौतिक पूर्वाधार सुधार, सेवा कक्ष विस्तार तथा नयाँ उपकरणहरू व्यवस्थापन गर्ने

सेवाग्राही–मैत्री वातावरण निर्माण, जसले बिरामीलाई छिटो, सुरक्षित र भरपर्दो सेवा प्राप्त गर्न सहज बनाउने

दाहालका अनुसार अस्पताल व्यवस्थापन समिति स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकतामा राख्दै, स्वास्थ्य सेवामा सुधार र नवीन कार्ययोजना लागू गर्न निरन्तर सक्रिय रहनेछ।

समुदायमै विशेषज्ञ सेवा विस्तारको अभियान

अस्पताल व्यवस्थापन समितिले स्थानीयवासीले उपचारका लागि टाढासम्म धाउन नपरोस् भन्ने उद्देश्यले आगामी दिनहरूमा क्रमिक रूपमा थप विशेषज्ञ सेवाहरू विस्तार गर्ने योजना अघि सारेको छ।
यस संदर्भमा बैठकले बाहिरी विशेषज्ञसँग समन्वय, आवश्यक सेवा अनुबन्धन, तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई प्रसार–प्रचार गर्ने विषयमा पनि विशेष जोड दिएको छ।

सामान्य रूपमा बैठकले अस्पताललाई गाउँपालिकाको ‘मूल स्वास्थ्य केन्द्र’ का रूपमा उकास्ने, गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिने र दीर्घकालीन स्वास्थ्य संरचना मजबुत बनाउन निरन्तर काम गर्ने निर्णयसँगै बैठक सम्पन्न भएको जनाएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend