कमल / प्रत्येक आइतबार र बिहीबार नियमित रूपमा सञ्चालन हुँदै आएको कमल नगर अस्पतालको दन्त सेवा आज आइतबार पनि निरन्तर रूपमा सञ्चालन गरिएको छ।
दमक हस्पिटल एण्ड रिसर्च सेन्टरका विशेषज्ञ चिकित्सकहरूको टोलीले कमल नगर अस्पतालमा पुगेर निःशुल्क दन्त स्वास्थ्य सेवा प्रदान गरेको हो।
स्थानीय सेवाग्राही दिवस खतिवडाले आफ्नी छोरीको स्वास्थ्य जाँचका लागि अस्पतालमा आएका थिए। सेवा लिएपछि अत्यन्त खुसी हुँदै फर्किएका उनले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनु प्रशंसनीय पहल भएको बताए।
हालै अस्पतालमा अत्याधुनिक दन्त चेयर जडान गरिएपछि बिरामीहरूको संख्या र सेवाप्रतिको सन्तुष्टि दुवै बढेको अस्पताल प्रशासनले जनाएको छ।
सो सेवामा डा. सिपी गैरे, हेमराज गैरे, तथा डा. सायरा ढकाल तथा उनीहरूको प्राविधिक टोलीले सेवा प्रदान गर्दै आएका छन्।
कमल नगर अस्पतालमा दन्त परीक्षण दाँत तथा गिजासम्बन्धी समस्या पहिचान र परामर्श, डेन्टल एक्स–रे, र नन–सर्जिकल दाँत खोल्ने लगायतका सेवा उपलब्ध छन्।
दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, दमकको प्राविधिक सहयोग रहेको छ।