झापा । झापा जिल्ला अदालतले ७३ औ कानून दिवसको अवसरमा अदालत परिसरभित्र सरसफाइ कार्यक्रम सहित शुभकामना आदानप्रदानको कार्यक्रम समेत गरेको छ।
अदालतका माननीय न्यायाधीश प्रकाशकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माननीय न्यायाधीशहरु महेन्द्र प्रसाद पोखरेल, तेजबहादुर खड्का, ऋतबहादुर पुलामी मगर, श्रेस्तेदार किरणकुमार सिह लगायत जिल्ला न्यायाधिवक्ता, बार पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता एवं अदालतका कर्मचारीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा बोल्दै न्यायाधीश अधिकारीले”न्यायालयबाट छिटो छरितो, सरल र सहज न्यायको लागी अदालतले रणनीतिक लक्ष्यका साथ काम गरिरहेको छ” भनी बताउनु भयो।

कानुनी इतिहासलाई हेर्दा नेपालमा वि.सं. २००८ मा प्रधान न्यायालय ऐन जारी भई २००९ वैशाख २६ गते लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको पाइन्छ । प्रधान न्यायालय ऐन लागू भएको सम्झनामा हरेक वर्षको वैशाख २६ गते नेपालमा कानुन दिवस मनाइँदै आइएको छ । यस वर्ष मनाइने कानुन दिवस भने ७३ औँ कानुन दिवस हो। नेपालको स्वतन्त्र न्यायपालिकाको जग बसाउने दिन समेतको रुपमा यो दिनलाई स्मरण गरिन्छ।
यस दिन नेपालको तिनै तहका अदालतहरू (जिल्ला, उच्च र सर्वोच्च) मा सार्वजनिक बिदा दिई अदालतहरु तथा न्यायालयसँग सम्बन्धी संस्थाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिएकोले यस बर्ष सरसफाई कार्यक्रम गरिएको अदालत प्रशासनले जनाएको छ।