कमल । कमल नगर अस्पतालद्वारा वडा नं. ७ मा बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
अस्पतालले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा कमल गाउँपालिका वडा नं. ७ स्थित सिंहदेवी आधारभूत विद्यालय, विष्णुकट्टामा बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर सम्पन्न गरेको छ।
कमल गाउँपालिकाको सबै क्षेत्रमा सन्तुलित रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने नीति अनुरुप बिहीबार सम्पन्न उक्त शिविरमा ४१२ जनाले विविध विशेषज्ञ स्वास्थ्य सेवाको निःशुल्क लाभ लिएका छन्।
शिविर कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको थियो। अध्यक्ष राईले यस्ता विशेषज्ञ सेवा सहितका शिविरले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
शिविरमा आम्दा अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. राजु साह, हाडजोर्नी विशेषज्ञ डा. अरुण साह, मेडिकल अफिसर डा. नारायण नेपाल र डा. राजेश सिंह, आमा डेन्टलकी डा. संगीता बराल, तथा मेची आँखाका वरिष्ठ नेत्र अधिकृत होमप्रसाद धिताल लगायतका स्वास्थ्यकर्मीहरूले प्राविधिक सेवा प्रदान गरेका थिए।
कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालका अनुसार शिविरमा १०४ जनाले फिजिसियन तथा हाडजोर्नी सेवा, २१२ जनाले आँखाको परीक्षण, ८८ जनाले दन्त परीक्षण तथा २७ जनाले स्त्रीरोग तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा लिएका थिए।
आँखाको परीक्षण गरिएका मध्ये १८ जनामा मोतियाविन्दु देखिएको र तीमध्ये ५ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको जानकारी दाहालले दिए।
शिविरमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने, कमल २ का वडा अध्यक्ष अशोक सुब्बा, कमल ७ का वडाध्यक्ष पृथीपति राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राई, रेडक्रस सभापति चन्द्र साह, सचिव पारसमणि राई, स्वास्थ्य शाखा प्रमुख बिमल थापा , महिला वालबालिका शाखा प्रमुख रिता कार्की , स्वास्थ्यकर्मी , कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज र नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पोषण लेखाजोखा तथा परामर्श सेवा समेत सञ्चालन गरिएको थियो। अध्यक्ष राईले शिविरको अवसरमा कमल ६ र ७ का अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री पनि वितरण गरेका थिए।

शिविरमा आवश्यक औषधिको व्यवस्था नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन र स्थानीय जीवन सापकोटाले गरेका थिए। यसअघि पनि कमल नगर अस्पतालले फागुन १ गते अस्पताल परिसरमै सर्वसाधारणलाई लक्षित गर्दै यस्तै निःशुल्क शिविर सञ्चालन गरिसकेको छ।