logo
शुक्रबार, साउन २९ २०८३

विश्व स्वास्थ्य दिवसको अवसरमा सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण


  • कुइनेटो न्युज
  • मंगलबार, चैत्र २६ २०८१

 

कमल । विश्व स्वास्थ्य दिवसको अवसरमा कमल गाउँपालिका सुत्केरी भएका महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको छ ।

हरेक वर्ष अप्रिल  ७  तारिकका दिन  विश्व स्वास्थ्य दिवसको  मनाउने गरिन्छ  । साेहि अवसरमा  नगर अस्पतालद्वारा आयोजित एक कार्यक्रममा  हालै सुत्केरी भएका महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको हाे ।

“स्वस्थ्य सुरुवात , समृद्ध भविष्य ” भन्ने नाराका साथ सम्पन्न यस दिवसमा अस्पतालले कमल गाउपालिकाको स्थानीय स्तरमा मातृ स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले बिपन्न तथा गरिब र आवश्यकता भएका सुत्केरी महिलाहरुलाई लक्षित गर्दै पोषण वितरण कार्यक्रम आयोजना गरेको हो।

कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले मातृ स्वास्थ्य तथा पोषण सुधारका लागि गाउँपालिकाले प्राथमिकता दिएका क्षेत्रहरुमध्ये यो कार्यक्रम एक महत्वपूर्ण प्रयास भएको बताउनुभयो।

उहाँले विशेष गरी आर्थिक रुपमा कमजोर वर्गका सुत्केरी महिलाहरुको पोषण सुधारमार्फत नवजात शिशु स्वास्थ्यमा पनि दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा अझ व्यवस्थित ढंगले यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो।

गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले महिलाहरुको सुत्केरी अवस्थालाई अत्यन्त संवेदनशील चरणको रुपमा व्याख्या गर्दै त्यसबेला पोषिलो आहारको विशेष खाँचो हुने बताउनुभयो। उहाँले वितरण गरिएको सामग्रीहरुमध्ये दाल, घ्यु, अण्डा, आयोडिन नुन, चामल लगायतका वस्तुहरु महिलाको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर छनोट गरिएको जानकारी दिनुभयो।

त्यसैगरी वडा नं. २ का अध्यक्ष अशोक सुब्बाले मातृ तथा नवजात शिशु स्वास्थ्यको महत्त्वका विषयमा जनप्रतिनिधिहरु यसप्रति गम्भीर रहेको बताउनु भएको छ। उहाँले चालु आर्थिक वर्ष २०८१/०८२ को गाउँपालिका नीति तथा कार्यक्रमअनुसार कमल–२ मा समेत बिपन्न परिवारका सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको जनाउनुभयो। यस कार्यक्रमले समुदायमै पुगेर समस्या बुझ्ने र समाधान गर्ने बाटोमा टेवा पुर्‍याउने उहाँको विश्वास थियो।

कार्यक्रममा कमल नगर अस्पतालका प्रमुख दीपक दाहाल, अस्पतालका मेसु.फुलक चन्द्र लावती, कार्यक्रम फोकल पर्सन विनुता सङ्रौला, सी.अ.न..मी. सबिता गुरुङ र अ.न.मी. अञ्जना सापकोटाले समाग्री बितरण गर्नुभएको थियो। उहाँहरुले संयुक्त रूपमा सुत्केरी महिलाहरुलाई पोषण सामग्री—जसमा चामल, दाल, अण्डा, घ्यु, आयोडिन नुन लगायत रहेका थिए—वितरण गर्नुभयो।

कार्यक्रममा सहभागी महिला र तिनका परिवारजनले अस्पताल र गाउँपालिकाले जनमैत्री ढंगले स्वास्थ्य सेवामा ल्याएको यो अभियानप्रति कृतज्ञता व्यक्त गरेका थिए।

यस कार्यक्रमबाट सुत्केरी महिलाहरुको पोषण सुधारसँगै नवजात शिशुको समग्र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। स्वास्थ्य र पोषणलाई स्थानीय तहमै प्रवर्द्धन गर्न कमल नगर अस्पतालद्वारा विश्व स्वास्थ्य दिवसको अवशरमा गरिएको यो प्रयास नमूना हुने विश्वास गरिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend