logo
शुक्रबार, साउन २९ २०८३

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने


  • विवेक भण्डारी
  • आइतबार, जेष्ठ १५ २०७९

कमल, जेष्ठ १४ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ ।
किरात राई यायोक्खा झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक बसेर कार्यक्रमको तयारी सुरु गरेको हो ।
साकेला उभौलीको अवसरमा बैशाख पूर्णीमाको दिन देखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई किराया जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय समापन हुँदै आएको छ । कार्यक्रम कमल गाउँपालिका वडा नम्बर ४ र ५ को संगमस्थल साकेला चौक सितापुरी उत्तर जिल्ला साकेला थान धार्मिक वनमा हुँदैछ ।
झापाका जिल्ला भरीका गाउँनगर तथा वडा समितिहरुको साकेला सिली प्रदर्शन साथै इलाम, मोरङ र भारत बाघडोग्राबाट समेत साकेला टोली सहित कार्यक्रममा सहभागि हुने किराया झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताउनुभयो ।
विगत वर्षहरुमा ३० देखि ३५ वटा साकेला सिली टोलीको सहभागिता रहदै आएको भएपनि यस पटक कार्यक्रममा केहि साकेला टोली बढ्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमितिहरु बनाइएको किराया जिल्ला सहसचिव लिला बहादुर राईले जानकारी दिनुभयो । कार्यक्रम मूल आयोजक समिति, स्वयवसेवक परिचालन, अतिथि सत्कार, मेला व्यवस्थापन उपसमिति लगायतको उपसमितिहरु गठन गरिएको राईले बताउनुभयो ।
कार्यक्रममा साकेला सिली प्रदर्शन, विभिन्न विद्यामा अग्रज सफल व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम साथै रोटेपिङ, ड्रागन, नाउ लगायतको खेल तमासा समेत रहने मेला व्यवस्थापन समितिका सदस्य जिवन राईले जानकारी दिनुभयो ।
साकेला सिली प्रतिको बढ्दो मोहलाई मध्यनजर गर्दै यस पटक कार्यक्रम व्यवस्थापनमा समेत ध्यान दिइएको किराया जिल्ला सदस्य सुशिल राईले बताउनुभयो । करिब ६ देखि ८ हजार मानिहरुले अवलोकन गर्दै आएको कार्यक्रम कोरोना पछिको पहिलो कार्यक्रम भएकोले कार्यक्रममा सहभागिता संख्या बढ्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend