logo
शुक्रबार, साउन २९ २०८३

एनएमसीमा इकाईगत साधारणसभा धमाधम, आज बिर्ताअर्जुन क्षेत्रका १० सेवाकेन्द्रमा सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, मंसिर ५ २०८१

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को ३२औं वार्षिक साधारणसभा अन्तरगत मंसीर २ गते आइतबारबाट सुरु गरिएको इकाइगत सभाहरु धमाधम भइरहेका छन् ।

सहकारीको वार्षिक साधारण सभा मापदण्ड अनुसार संस्थाका ७ वटा क्षेत्रलाई सातवटा इकाई मानेर सेवा केन्द्रस्तरमा एउटै कार्यसूचिमा उपइकाइगत साधारणसभा सञ्चालन भइरहेका हुन् ।

पहिलो दिन आइतबार मेची क्षेत्रमा रहेका १० वटा सेवा केन्द्रमा उपइकाइगत साधारणसभा गरिएको थियो भने दोस्रो दिन सोमबार इलाम क्षेत्रका ४ वटा सेवा केन्द्रहरुमा उपइकाइगत साधारणसभा गरिएको थियो ।

तेस्रो दिन मंगलबार बिर्ता–अर्जुन क्षेत्र अन्तरगतका १० वटा सेवा केन्द्रहरुमा उपइकाइगत साधारणसभा सम्पन्न गरिएको क्षेत्रीय प्रमुख प्रकाश सुवेदीले जानकारी दिन्ुभयो ।

उनका अनुसार बिर्तामोड, शनिश्चरे, खुदुनाबारी, चारपाने, बुट्टाबारी, सैनिकमोड, गरामनी, सैनिकबजार, महानन्दचोक र इलामको दानाबारीमा रहेको सेवा केन्द्रहरुमा आज उपइकाइगत साधारणसभा सम्पन्न गरिएको हो ।

सेवा केन्द्रस्तरमा आयोजित उपइकाइगत साधारणसभामा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु एवम् संस्थाका अधिकृत कर्मचारीहरुबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सातवटा इकाइगत साधारणसभाका कार्यक्रमहरु मंसीर ८ गतेसम्म सञ्चालन भई मंसीर १५ गते शनिबार बिर्तामोडमा माइन्युट प्रमाणित सभा आयोजना गरिने कार्यक्रम बनाइएको संस्थाले जनाएको छ ।

उपइकाइगत साधारणसभाको तेस्रो दिन बिर्ता–अर्जुन क्षेत्र अन्तरगत बिर्तामोड सेवा केन्द्रमा भएको सभामा संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो

संस्थापक अध्यक्ष उप्रेतीले समीक्षा अवधिमा एनएमसीको सेयर पूँजी १ अर्ब ४० करोड १९ लाख ७ हजार ५०० रुपैयाँ तथा सेयर सदस्य संख्या १ लाख ६७ हजार ९११ पुर्याइएकोे जनाए ।

उनका अनुसार संस्थाको निक्षेप बचत मौज्दात १० अर्ब ७१ करोड ४८ लाख ८५ हजार ६१० रुपैयाँ तथा ऋण लगानीमा रहेको रकम १० अर्ब ६६ करोड २ लाख ६१ हजार ६१५ रुपैयाँ पुर्याइएको छ ।

मुनाफा प्रतिशत वृद्धिको लक्ष्यको आधारमा १३ दशमलव १५ प्रतिशत हासिल गरी संस्थाले आव २०८०÷०८१ को कारोबारबाट भएको खुद मुनाफाबाट सेयर लाभांश कोषमा ६ करोड ३२ लाख २१ हजार ३८४ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषमा ३ करोड ३ लाख ७ हजार ४७१ रुपैयाँ छुट्याएको निवर्तमान अध्यक्ष उप्रेतीले सो सभामा जानकारी गराउनु भयो ।

यसैगरी आव २०८०÷०८१ को कारोबारबाट भएको खुद मुनाफाबाट कर्मचारी बोनस कोषमा ३ करोड ९ लाख ८६ हजार ३०१ रुपैयाँ विनियोजन गरिएको र ती सबै कोषमा जम्मा भएको रकमलाई संस्थाको कार्यविधिअनुसार वितरण गर्ने प्रस्ताव गरिएको पनि उनले सुनाउनुभयो ।

आर्थिक वर्ष २०८०÷०८१ असार मसान्तमा १४ अर्ब ११ करोड ५६ लाख २१ हजार ९३१ रुपैयाँको वासलात बनाएको एनएमसीले गत एक आर्थिक वर्षमा सदस्य तथा समुदायका लागि ४ करोड ४९ लाख २३ हजार ८९० रुपैयाँ खर्चेको निवर्तमान अध्यक्ष उप्रेतीले गर्व गर्दै जानकारी दिनुभयो ।

एनएमसीले चालू आर्थिक वर्षदेखि सक्रियताका आधारमा सदस्यहरुको वर्गीकरण गर्ने प्रस्ताव साधारणसभामा पेश गरेको छ । संस्थाको कारोबार तथा क्रियाकलापहरुमा सहभागिताको आधारमा सक्रिय, मध्यम सक्रिय र कम सक्रिय सदस्यहरुको वर्गीकरण गर्ने योजना अगाडि सारिएको हो ।
यसैगरी सदस्यहरुमा उद्यमशीलता प्रवद्र्धनका लागि संस्थाले सीप सिकाउने, पूँजी निमाृणका लागि कर्जा प्रवाह गर्ने एवम् उत्पादित वस्तुहरु संस्थाले खरिद गरिदिने सम्मको योजनाका साथ प्रोत्साहन कार्यक्रम प्रस्ताव गरेको छ ।

जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा उनले आफ्नो मन्तब्यमा एनएमसीलाई धरैवटा राष्ट्रिय पुरस्कारहरु पाएको, धेरैवटा व्यवसायहरु सञ्चालन गरिरहेको सफल सहकारी भएको बताउनुभयो ।

उपइकाइगत साधारणसभाका प्रमुख अतिथि रोक्काले सहकारी भन्ने बित्तिकै आधारभूत जनताको आर्थिक प्रगतिका लागि स्थापित संस्था हुन् भन्दै सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने भनाई उरन्ठेउलाहरुले छरेको भ्रममात्र रहेको प्रष्ट पार्नु भएको थियो ।

सेवा केन्द्र उपसमितिका संयोजक पर्शुराम मगरको अध्यक्षता तथा सेवा केन्द्र प्रमुख कुस्पना खरेलले सञ्चालन गरेको सो उपइकाइगत साधारणसभामा संस्था सञ्चालक समितिका सदस्य देवीप्रसाद उप्रेतीले वार्षिक वजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी संस्थाको कर्पोरेट प्रशासन विभाग प्रमुख मनिष कोइरालाले लेखा सुपरीवेक्षण समिति र बाह्य लेखा परीक्षण प्रतिवेदनका मुख्य मुख्य बुँदाहरु वाचन गरेर सुनाउनु भयो ।

सो उपइकाइगत साधारण सभामा बिर्तामोड सेवा केन्द्रको इकाइ नं. १२ लाई उत्कृष्ट इकाई घोषणा गर्दै यसका संयोजक, सदस्यहरु र सदस्य सचिवलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सम्मान ग्रहण पछि इकाई नं. १२ का संयोजक उमानाथ गौतमले कृतज्ञता मन्तब्य राख्नु भएको थियो ।

नेपालकै दोस्रो ठूलो सहकारी संस्थाका रुपमा परिचित एनएमसीमा सदस्य संख्या तथा वित्तीय कारोबारको अंक वर्षेनी वृद्धि भइरहेको र केही वर्षदेखि विद्यमान आर्थिक मन्दीका बीचमा पनि एनएमसीको कारोबारमा नकारात्मक सूचक नरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend