कमल/ झापाको कमल गाउँपालिकामा कार्यरत राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाको विदाइ तथा स्वागत गरिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज एक कार्यक्रमकाे आयाेजना गरि गाउँपालिकामा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाको विदाइ तथा नवनियुक्त स्वयंसेविकाहरूको स्वागत गरिएको हाे ।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लामो समयसम्म समुदायको स्वास्थ्य प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन तथा जनस्वास्थ्यका विविध कार्यक्रममार्फत उल्लेखनीय योगदान पुर्याई अनिवार्य अवकाश प्राप्त गर्नुभएका लाई विदाई गरिएको हाे ।
यसरी विदाई हुनेमा कमला कार्की र बिमला भट्टराईलाई सम्मानपत्र तथा मायाको चिनो सहित नगद १ लाख सहित विदाई गरिएको हाे ।

विदाइ मन्तव्यका क्रममा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका बिमला भट्टराईले ३३ वर्षसम्म सेवा गर्ने क्रममा धेरै चुनौती र अवरोधहरू सामना गर्नुपरे पनि समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै निरन्तर सेवा गर्न पाएकोमा आफूलाई गर्व र आत्मसन्तुष्टि महसुस भएको बताउनुभयो।

त्यसैगरी, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा नवनियुक्त हेममाया विष्ट (कमल ४) र सविता पोखरेल (कमल ६)लाई खादा तथा पुष्पगुच्छासहित स्वागत गरिएको थियो।
स्वागत मन्तव्यका क्रममा नवनियुक्त स्वयंसेविका हेममाया विष्टले समुदायको स्वास्थ्य प्रवर्द्धनका लागि सक्रिय, जिम्मेवार र समर्पित भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रतिनिधि, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै लामो समयसम्म सेवा गर्ने स्वयंसेविकाहरूको योगदान सधैं स्मरणीय रहने बताउनुभयो। साथै, नवनियुक्त स्वयंसेविकाहरूले पनि समर्पण, इमानदारी र सेवाभावका साथ समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।