logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पतालमा कोशी प्रदेशकै पहिलो “कोशी प्रदेश सरकारको घुम्ती अस्पताल” मोबाइल स्वास्थ्य शिविरको तयारी पूरा


  • कुइनेटो न्युज
  • बिहिबार, पुष २४ २०८२

कमल,  । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदायलाई लक्षित गरी कोशी प्रदेश सरकारको महत्वाकाङ्क्षी कार्यक्रम “कोशी प्रदेश सरकारको घुम्ती अस्पताल” अन्तर्गत कोशी प्रदेशकै पहिलो मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविर भोलि २०८२ साल पौष २५ गते शुक्रबार कमल नगर अस्पतालमा सञ्चालन हुने भएको छ। उक्त शिविरका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले दिनुभएको छ।

प्रदेश सरकारको यस कार्यक्रमलाई स्वास्थ्य सेवामा पहुँच विस्तार, प्रारम्भिक रोग पहिचान तथा समग्र जनस्वास्थ्य सुदृढीकरणतर्फको ऐतिहासिक कदमका रूपमा लिइएको छ। कोशी प्रदेशमै पहिलोपटक कमल नगर अस्पतालबाट कार्यक्रम सुरु हुन लागेकोले स्थानीय नागरिकमा उत्साह बढेको छ।

मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीको विशेष उपस्थितिमा उद्घाटन

“कोशी प्रदेश सरकारको घुम्ती अस्पताल” मोबाइल स्वास्थ्य शिविरको औपचारिक उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की तथा स्वास्थ्य मन्त्री माननीय मान बहादुर लिम्बुको विशेष उपस्थिति रहनेछ। प्रदेश सरकारका उच्च तहका नेतृत्वको प्रत्यक्ष सहभागिताले कार्यक्रमको महत्वलाई थप बलियो बनाएको छ।

अध्यक्ष हुकुम सिंह राई, प्रदेश निर्देषनालयको नेतृत्वमा तयारी सम्पन्न

यस सम्बन्धमा जानकारी दिँदै कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले प्रदेशकै पहिलो घुम्ती अस्पताल कार्यक्रम कमल नगर अस्पतालबाट सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले मुख्यमन्त्री तथा स्वास्थ्य मन्त्रीको उपस्थितिमा कार्यक्रम आयोजना हुनु स्थानीय तहका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो।

अध्यक्ष राईका अनुसार यस शिविरमार्फत स्थानीय नागरिकलाई घरआँगनमै निःशुल्क, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने कमल नगर अस्पतालप्रति जनविश्वास थप मजबुत हुनेछ। शिविर सफल बनाउन उहाँ स्वयं आवश्यक समन्वय र तयारीमा सक्रिय रूपमा खटिनुभएको जनाइएको छ।

समन्वय बैठकपछि कार्ययोजना अनुसार सम्पूर्ण तयारी पूरा

घुम्ती अस्पताल कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन कमल नगर अस्पतालमा विस्तृत समन्वय तथा तयारी बैठक सम्पन्न भई समग्र कार्ययोजना अनुसार सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको छ।

तयारीमा जनस्वास्थ्य प्रशासक (नवौँ) रमेश बराकोटी, अस्पताल नर्सिङ प्रशासक (नवौँ) आस्था थापा, जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख बिनु थापा, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, अस्पताल प्रमुख दिपक प्रसाद दाहालसहित चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू सक्रिय रूपमा खटिएका छन्।

AI Digital X-Ray सहित स्वास्थ्य शिविर सञ्चालन

भोलि सञ्चालन हुने शिविरमा Artificial Intelligence (AI) प्रविधिमा आधारित Digital X-Ray सेवा समेत उपलब्ध हुने जानकारी कमल–२ का वडा अध्यक्ष अशोक सुब्बाले दिनुभएको छ। यस सेवाबाट क्षयरोग, फोक्सो तथा छातीसम्बन्धी रोगहरूको छिटो, प्रभावकारी र विश्वसनीय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उक्त सेवाको लागि आवश्यक तयारी समेत पूरा भइसकेको छ।

निःशुल्क उपलब्ध हुने स्वास्थ्य सेवाहरू

मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविरमार्फत नागरिकलाई निःशुल्क रूपमा निम्न सेवाहरू प्रदान गरिनेछः

नसर्ने रोग (NCD) को स्क्रिनिङ

रक्तचाप जाँच

पिसाब परीक्षण

BMI मापन

मधुमेह (सुगर) जाँच

थाइराइड जाँच

मुटु सम्बन्धी परीक्षण

ECG

Echo (मुटुको भिडियो एक्स–रे)

हड्डी तथा नसासम्बन्धी रोगको जाँच तथा विशेषज्ञ परामर्श

आवश्यक औषधि निःशुल्क वितरण

कमल नगर अस्पताल सुदृढीकरणमा दीर्घकालीन प्रभाव

मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविरले कमल नगर अस्पताललाई सेवा, प्रविधि र जनशक्तिको दृष्टिले थप सुदृढ बनाउने विश्वास गरिएको छ। प्रदेशस्तरीय विशेषज्ञ सेवा, आधुनिक उपकरण र नवीन प्रविधिको प्रयोगले अस्पतालको सेवा गुणस्तर, क्षमता र पहिचान उकासिँदै जाने अपेक्षा गरिएको छ। यसले भविष्यमा स्थानीय स्तरमै उपचार सम्भव बनाउँदै रेफरल निर्भरता घटाउन सहयोग पुर्‍याउनेछ।

समग्र जनस्वास्थ्य सुधारतर्फ महत्वपूर्ण कदम

यस कार्यक्रमले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार, रोगहरूको प्रारम्भिक पहिचान, समयमै उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै समग्र जनस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend