logo
मंगलबार, कार्तिक ११ २०८३

कमल नगर अस्पतालमा न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, पुष ५ २०८२

कमल ।कमल नगर अस्पतालमा न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण, समीक्षा तथा सुदृढिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

कमल नगर अस्पतालमा “न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण, समीक्षा, अनुगमन तथा सुदृढिकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै सेवाग्राहीमैत्री अस्पताल निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले अस्पतालको समग्र सेवा प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

उक्त कार्यक्रम स्वास्थ्य कार्यालय झापा को आयोजनामा यही मिति २०८२ साल पौष ०३ र ०४ गते कमल नगर अस्पतालमै सञ्चालन गरिएको थियो। दुई दिनसम्म चलेको कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै वडा सदस्य भिम सिंह कार्की ज्यू तथा कमल नगर अस्पताल सन्चालन व्यवस्थापन समिति का पदाधिकारीहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाएको थियो।

कार्यक्रम अवधिभर MSS का मापदण्ड तथा सूचकहरूका आधारमा विस्तृत समीक्षा, अनुगमन तथा स्कोरिङ गरिएको थियो। यस प्रक्रियाले अस्पतालको विद्यमान सेवा अवस्था, पूर्वाधार, व्यवस्थापन पद्धति तथा सुधार गर्नुपर्ने क्षेत्रहरूको स्पष्ट पहिचान गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको छ। कार्यक्रम सहजिकरणको जिम्मेवारी स्वास्थ्य कार्यालय झापाका कार्यक्रम फोकल पर्सन विश्वनाथ श्रेष्ठ ज्यूले निर्वाह गर्नुभएको थियो। उहाँले MSS का मापदण्ड, यसको व्यवहारिक महत्व, कार्यान्वयनका सम्भावित चुनौती तथा सुधारका उपायहरूबारे स्पष्ट र बोधगम्य प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमको समापन अवसरमा अस्पताल सन्चालन तथा व्यवस्थापन समिति सदस्य चक्र गुरुङ ज्यूले समितिको तर्फबाट धारणा राख्दै आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रवाह गर्ने, अस्पताललाई थप व्यवस्थित, उत्तरदायी र विश्वासिलो संस्थाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, दुई दिनसम्म सञ्चालन भएको यो अभिमुखीकरण तथा समीक्षा कार्यक्रम अत्यन्तै उपयोगी, सिकाइमुखी र व्यवहारिक रहेको उल्लेख गर्नुभयो।

यस प्रकारका कार्यक्रमहरूले कमल नगर अस्पतालको सेवा स्तर उकास्न, स्वास्थ्यकर्मीहरूको क्षमता विकास गर्न तथा समग्र अस्पताल व्यवस्थापन प्रणालीलाई सुदृढ र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend