कमल। झापाको कमल गाउँपालिकामा मातृशिशु स्वास्थ्य तथा पोषण सुदृढीकरणका लागि संचालन गरिएको पोषण लेखाजोखा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाका सम्पूर्ण वडाका २४ स्थानहरूमा संचालन गरिएको कार्यक्रममा अन्तरगत ६ देखि ५९ महिनासम्मका ८ सय ४ जना बालबालिकाको पोषण स्थिति परीक्षण गरिएको थियो।
स्वास्थ्य परीक्षणको नतिजा अनुसार ४ जना बालबालिका गम्भीर कुपोषण (Severe Acute Malnutrition – SAM) मा रहेका तथा २५ जना मध्यम कुपोषण (Moderate Acute Malnutrition – MAM) ) रहेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विमल थापा (बिनु) ले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मी,महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो । पोषण लेखाजोखा अन्तर्गत बालबालिकाको तौल, उचाइ तथा पाखुरा परिधि (MUAC) को मापन गरिएको थियो ।
स्वास्थ्य परिक्षण स्थलमा स्वास्थ्य कर्मीहरूले बालबालिकाको स्वास्थ्य परीक्षण गरिरहेको, अभिभावकसँग परामर्श लिइरहेको दृश्य देखिन्छ, जसले कार्यक्रमको सक्रियता र सहभागिता प्रष्ट पार्दछ ।

कमल गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले पोषण सुधारको आवश्यकता झनै स्पष्ट पार्दछ । पालिकाकाले पत्ता लगाएका कुपोषणका केसहरूलाई तत्काल उपचारमा ल्याउने र दीर्घकालीन सुधारका योजना तयार गर्ने जानकारी दिइएको छ।
कार्यक्रम अन्तर्गत पोषणसम्बन्धी जनचेतना, स्तनपान, पूरक आहार र सरसफाइबारे अभिभावकहरूलाई जानकारी दिइएको थियो ।