कमल । कमल गाउँपालिका २ स्थित कमल नगर अस्पतालमा हरेक महिनाको तेस्रो बुधबार देखि मानसिक रोग विशेषज्ञ डाक्टरको सेवा सञ्चालनमा आएको छ ।
अस्पतालिममा सेवा सञ्चालन सुरु भएपछि स्थानीय बासिन्दालाई आफ्नो स्वास्थ्य परिक्षण गर्न सहज भएको छ ।
आज पहिलाे दिनमा मात्रै २९ जना बिरामीहरूले विशेषज्ञ सेवा लिएको कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईले जानकारी दिनुभयो।
विशेषज्ञ सेवाको सुरु भएसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरूले टाढा जानु नपर्ने भएपछि सहज महसुस गरेका छन्।
अध्यक्ष राईका अनुसार स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन सक्नु कमल नगर अस्पतालको ठूलो उपलब्धि हो। यसले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने लक्ष्यलाई समेत टेवा पुर्याएको छ।
कमल २ का वडा अध्यक्ष तथा अस्पताल संचालन व्यवस्थापन समितिका सदस्य अशोक सुब्बाले पनि यस सेवाले कमल बासी तथा छिमेकी पालिकाका नागरिकहरूलाई ठूलो राहत मिलेको बताउनुभयो।
उहाँका अनुसार, मासिक रूपमा प्रदान गरिने यो सेवाको प्रचार-प्रसारसँगै बिरामीहरूको चाप बढ्दै गएको छ, जसले स्थानीय बासिन्दाहरूको मानसिक स्वास्थ्यप्रति चासो र सचेतना बढेको संकेत गर्दछ।

विशेषज्ञ सेवाप्रति बिरामीहरूको आकर्षण
आजको सेवा अवधिमा बिरामीहरूले मानसिक तनाव, चिन्ता, डिप्रेशन, अनिद्रा जस्ता समस्याहरूमा विशेषज्ञसँग परामर्श लिएका थिए। कतिपय बिरामीहरू पहिलो पटक नै विशेषज्ञसँग प्रत्यक्ष भेटेर खुसी भएका थिए भने पुराना बिरामीलाई समेत आफ्नै पालिकाकाे अस्पतालमा सेवा लिन पाउँद सहज भएको बताएका छन् ।
सेवा विस्तारका योजना
कमल नगर अस्पतालले आगामी दिनमा मानसिक स्वास्थ्यका साथै अन्य विशेष सेवाहरू पनि थप गर्ने योजना बनाएको छ। अस्पताल प्रशासनले उपचारको गुणस्तर र पहुँच दुवैलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने तयारी गरिरहेको अस्पताल प्रमुख दिपक दाहाल ले जानकारी दिनुभयाे ।
स्थानीय बासिन्दाहरूले पनि यस्तो सेवा निरन्तर जारी रहोस् र थप सुधार होस् भन्ने अपेक्षा गरेका छन्। मानसिक स्वास्थ्यजस्तो संवेदनशील विषयमा स्थानीय स्तरमै विशेषज्ञ सेवाको उपलब्धता हुनु कमल नगर अस्पतालको लागि मात्र नभई सम्पूर्ण कमल गाउँपालिकाकै लागि गर्वको कुरा हो।
यसले मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूले समयमै सही परामर्श र उपचार पाउने वातावरण सुनिश्चित गरेको छ। यस्तो सकारात्मक पहलले स्वास्थ्य सेवामा जनताको विश्वास अझ गाढा हुने अपेक्षा गरिएको छ।