कमल । कमल नगर अस्पतालले खोप अभियानलाई थप प्रभावकारी बनाउन नयाँ अभ्यासको सुरु गरेको छ ।
कमल गाउँपालिकाको प्रमुख स्वास्थ्य केन्द्रको रुपमा रहेको कमल नगर अस्पतालले हरेक महिनाको १५ र १६ गते सञ्चालन गर्दै आएको नियमित खोप अभियानलाई अझ प्रभावकारी बनाउन नयाँ अभ्यास सुरु गरेको छ ।
अस्पतालले खोप अभियानलाई प्रभावकारी बनाउन फागुन महिनाको खोप १५ गते भुत्लुङ्ग खोप केन्द्र र १६ गते कमल नगर अस्पतालको खोप केन्द्रमा सम्पन्न गरेको छ ।
अस्पतालले खोप अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले विभिन्न निर्णय गरेको छ । समितिले गरेको निर्णय अनुसार आगामी दिनमा खोप लगाउनुपर्ने बालबालिकाको नाम, अभिभावकको नाम, सम्पर्क नम्बर, र खोपको नाम खोप सञ्चालन गर्नु भन्दा पहिले नै सार्वजनिक गर्ने निर्णय गरेको अस्पतालका प्रमुख दीपक दाहालले जानकारी दिनुभयो ।
खोप छुट्ने सम्भावना न्यून बनाउन पहल
खोप अभियानलाई अझ प्रभावकारी र पारदर्शिता बनाउन अस्पताल व्यवस्थापन समिति लागि परेको छ । अभिभावकले समयमै सूचना पाएमा आफ्ना बालबालिकालाई खोप लगाउन खोप केन्द्रमा लैजान सजिलो हुने भन्दै खोप लगाउनु पर्ने बालबालिकाका अभिभावकलाई समयमै जानकारी गराई खोप छुट्ने सम्भावना न्यून पार्ने गरी समितिले नयाँ अभ्यास सुरु गरेको कमल गाउँपालिकाका तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

समुदायमा सकारात्मक प्रभाव
समितिको निर्णयले समुदायमा अस्पतालप्रति विश्वास बढाउने र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने उद्देश्य पूरा गर्ने कमल २ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका सदस्य अशोक सुब्बाले बताउनु भयो ।
नयाँ अभ्यास मार्फत खोप अभियानलाई अझ व्यवस्थित बनाउन अभिभावकहरू सचेत भएकाले खोप अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहज हुने वडा अध्यक्ष सुब्बाले बताउनुभयो ।
स्वास्थ्य सुरक्षामा अनुकरणीय पहल
कमल नगर अस्पतालले बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिँदै आएको छ । अस्पतालका प्रमुख दीपक दाहालका अनुसार, भविष्यमा पनि खोप अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न नवीन अभ्यासहरू गरिनेछन् । आगामी चैत्र १५ गते भुत्लुङ्ग खोप केन्द्र र १६ गते कमल नगर अस्पताल मा नियमित खोप सेवा सञ्चालन हुने प्रमख दाहालले बताउनु भयो ।
कमल नगर अस्पतालले सञ्चालन गरेको नयाँ अभ्यासले अन्य स्थानीय तहका स्वास्थ्य संस्थाहरूका लागि पनि अनुकरणीय नमुना प्रस्तुत हुन सक्न अस्पताल प्रशासनले जनाएको छ ।