कमल । नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट फुटबल प्रतियोगिता सञ्चालन हुन भएको छ ।
नेकपा एमाले कमल गाउँ कमिटीले आज प्रतियोगिताको लागो सार्वजनिक गर्दै “अन्तर वार्ड स्तरीय प्रथम कमल एमाले कप” सञ्चालन हुने बारे जानकारी गराएको हो ।
फुटबल प्रतियोगिता आगामी फागुन ७ गते देखी १० गते सम्म कमल ३ स्थित केर्खा खेल मैदानमा आयोजना हुने प्रतियोगिताको लोगो नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ५ इन्चार्ज दीपक कार्कीले गर्नु भएको थियो ।
वडा स्तरीय नक आउट फुटबल प्रतियोगितामा ७ वटा वडाका एकएक वटा टिम सहभागी हुने छन् भने प्रतियोगितामा नेकपा एमाले कमलमा रहेका एक हजार २ सय पार्टी सदस्यहरू मध्ये बाट मात्र प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोश्रो हुने टिमले नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र पाउने छ ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले ३ हजार नगद सहित कप र प्रमाणपत्र पाउने छन् त्यस्तै वेस्ट स्ट्राइकर ,वेष्ट मिडफिल्डर, वेष्ट गोल किपर, वेस्ट डिफेन्डर र म्यान अफ द सिरजले नगद २ हजार रुपैयाँ सहित कप र प्रमाणपत्र पाउने नेकपा एमाले कमल गाउँ कमिटीका अध्यक्ष हरि ढकालले जानकारी दिनु भयो ।
नेकपा (एमाले), केन्द्रिय कमिटीले माघ, फागुन र चैत्र तीन महिना वडा केन्द्रित जरा अभियान सञ्चालन गरेको छ । जरा अभियान अन्तर्गत बिभिन्न सङ्गठन निर्माणका साङ्गठनिक कार्यका अतिरिक्त एक रचनात्मक कार्य गर्न निर्देशन भए बमोजिम कमल गाउँ कमिटीले पहिलो पटक युवाहरू बिच रचनात्मक कार्य गर्न लागेको केन्द्रिय कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ५ इन्चार्ज दीपक कार्कीले बताउनु भयो ।

फुटबलको माध्यमबाट वार्डमा रहेका खेलप्रेमी खेलाडीहरूलाई पार्टी सङ्गठनमा जोड्ने उद्देश्य र लक्ष्य सहित आयोजना गरिएको प्रतियोगिताको प्रथम संस्करण मनोरञ्जनात्मक हुनेछ भने दोश्रो संस्करणमा पुग्दा प्रतियोगितात्मक हुने नेकपा एमाले कमल गाउँ कमिटीका सचिव विरेन्द्र अधिकारीले बताउनु भयो ।
पत्रकार सम्मेलनमा केन्द्रिय कमिटी सदस्य मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य तथा कमल इन्चार्ज बेनु सिवाकोटी , प्रदेश लेखा समिती सदस्य प्रमिला न्यौपाने तिवारी, प्रदेश सल्लाहकार समिति सदस्य बलराम गजुरेल ,झापा जिल्ला कमिटी सचिवालय सदस्य चक्र गुरुङ, जिल्ला कमिटी सदस्य सिता निरौला र नर्वदा उप्रेती गौतम , गाउँ कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो ।