logo
शुक्रबार, साउन २९ २०८३

भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि निश्चल क्षेत्री र पविन लिङथेपको जोडी तथा प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले उचालेका छन्


  • हिमाल खरेल
  • मंगलबार, फाल्गुन १ २०८०

बिर्तामोड । बिर्तामोडमा भएको पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि निश्चल क्षेत्री र पविन लिङथेपको जोडी तथा प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले उचालेको छ ।

 

आज बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा पुरुष खुलातर्फ भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपले सोझो सेटमा जित हाँसिल गर्दै उपाधि जितेका हुन् ।

उनीहरुले सशस्त्र प्रहरी बलका भोजबहादुर गुरुङ र भोजपुरका विशाल तामाङको जोडीलाई ३०–२८ र २१–१९ को सोझो सेटमा हराएका थिए ।
त्यस्तै, भेट्रान्सतर्फ गुरुङ र कपालीको जोडीले कृष्ण खड्का र विष्णु तामाङको जोडीलाई हराउँदै उपाधि रक्षा गरेको हो ।

बिग ब्रदरका गुरुङ र कपालीले मेहरमानका खड्का र तामाङलाई २१–१६ र २१–१६ को सोझो सेटमा हराएका थिए ।

यसैबीच, खुलातर्फ आर्मीका हिमाल चन्द र नखिपोटका विवेक कन्दङवाको जोडी तथा उदयपुरका विनय चौधरी र मोरङका लाक्पा शेर्पाको जोडी तेस्रो भए ।

भेट्रान्सतर्फ पाँचथरका दिपक आङदेम्बे र मोरङका जीवन बोगटी तथा ताप्लेजुङका घनेन्द्र लिम्बू र मदन लिम्बूको जोडी तेस्रो भए ।

आयोजक लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीको आयोजनामा भएको प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाए ।

त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गरे ।

भेट्रान्सतर्फका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

क्लबका अध्यक्ष महेन्द्र घिमिरेको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका डिस्ट्रिक्ट गभर्नर विजयहरि शर्मा, प्रतियोगिता संयोजक रविन्द्र भट्टराई, पूर्वअध्यक्ष शैलेन्द्र कुरुम्बाङ लगायतले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend