logo
मंगलबार, कार्तिक ११ २०८३

कोशीमा मतदान जारी, ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस


  • कुइनेटो न्युज
  • बिहिबार, माघ ११ २०८०

विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो ।

कोशी प्रदेशमा अन्य तर्फ सत्तारूढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र महिला कोटामा चम्पा कार्की उम्मेदवार छन् । एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा रुक्मिणी कोइराला उम्मेदवार छन् ।

अन्य तर्फ पर्शुराम अधिकारीको उम्मेदवारी फिर्ता गरेर एमालेले राप्रपाका पौडेललाई समर्थन गरेकाले यो पदमा प्रतिस्पर्धा पेचिलो बनेको छ ।

सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ । केही मत क्रस गराएर नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा एमाले-राप्रपा गठबन्धन छ । सत्ता गठबन्धन भने मत क्रस हुन नदिने प्रयासमा छ ।

मतदानका लागि आएका ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस

यसैबीच राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् । उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधबार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेका थिए ।

होटलमा खाना खाने बेलामा थारु बेहोस भएपछि उपचारका लागि सुरूमा पारस अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएको हो । भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको उपचार भइरहेको अस्पतालले बताएको छ ।

अध्यक्ष थारू अचेत अवस्थामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend